काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्व सभामुख, इलाम २ बाट निर्वाचित सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ।
आज बिहान १ बजे हृदयघात भएपछि नेम्वाङलाई महाराजगन्जस्थित त्रिवि शिक्षक अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको छ ।
बिहान साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लले सीआईएनसँग बताउनुभयो । २००९ फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बन्नुभएका उहाँ २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएको थियो ।
कानुनी पृष्ठभूमिका नेम्वाङ पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएको थियो । उहाँकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।
२०२८ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बन्नुभएका त्यसयता राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभपति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०६:२४