काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले एक दिन विदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने र अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उहाँहरु आउँदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि सोमबार राति नेम्वाङको निधन भएको हो । दुवै संविधानसभाका अध्यक्ष नेम्वाङ हाल इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ११:१६