बासँगको सत्सङ्ग
सबैका निम्ति आफ्ना बा नायक हुन्छन् । र, त्यसका निम्ति कारण पनि हुन्छन् होला खोज्यो भने । मेरो निम्ति पनि मेरा बा मेरा नायक हुन् । तर, म कारण खोज्ने अवस्थासम्म पुग्न सक्दिनँ । उहाँ नायक/आदर्श हुनुहुन्थ्यो मेरो । मेरो जिन्दगीमा बासँग सत्सङ्ग जम्मा आठ वर्ष मात्र भयो । बा प्रगतिशील राजनीतिमा संलग्न हुनुहुन्थ्यो पञ्चायती व्यवस्था छँदा । उहाँ कहिले धादिङ र कहिले काभ्रेतिर पढाएर कमाउन जानुहुन्थ्यो । काठमाडौँमा उहाँले काम गर्न नपाउने र राजनीतिक रूपमा उहाँका निम्ति असुरक्षित अवस्था भएकाले उहाँले उपत्यकाबाहिर जानु परेको थियो । म आठ वर्षको छँदा मैले बालाई देख्न र छुन पाएको हुँ । म सोह्र वर्षको हुन्जेल बासँगै थिएँ । त्यसपछि एक्लै बस्न थालेँ म । र, ती आठ वर्ष जुन बासँग बिते ती मेरो जीवनमा स्वर्णाक्षरले लेखिएका छन् ।
उहाँले मसँग कहिले ठुलो स्वर गर्नुभएन । कहिले गाली गर्नुभएन । मैले आफैँले जिन्दगीको बाटो पहिल्याओस् भन्ने शायद उहाँको धारणा थियो । म लेखक बनूँ भन्ने उहाँको सपना थियो । तर, कहिल्यै आग्रह राख्नुभएन । तर, जब म केही लेख्थेँ, सुनाउँथे, उहाँका आँखामा बेग्लै चमक देखिन्थ्यो । जून अहिले पनि म झल्झली सम्झिन्छु । विद्रोहको राजनीतिमा जाओस् भन्ने पनि उहाँको अर्को सपना थियो । त्यो सपना भने मैले २०३७ सालमा चुँडाइदिएँ । कहिले नरमाइलो लाग्छ । कहिले भने लाग्छ- बा अझै हुनुभएको भए अहिलेको राजनीतिक तमासा हेरे उहाँ आफैँले मलाई राजनीतिमा होम्ने सपना बिर्सिदिनुहुन्थ्यो होला एउटा दुःस्वप्न भनेर ।
मान्छेको जात नै मान्छे
बाले मलाई कहिले कुनै कुरा ‘इम्पोज’ गर्नु भएन । तर, दुई वटा कुरा चाहिँ दृढ रूपमा भन्नुभयो । पहिलो, मान्छेले बनाएको ईश्वरभन्दा मान्छेको पूजा गर्नु भन्नुहुन्थ्यो । र, दोस्रो मान्छेको जात नै मान्छे हो भन्नुहुन्थ्यो । उहाँलाई जात, वर्ण र धर्मको आधारमा मानिसहरू बेग्लिएको मन पर्दैनथ्यो । यदि 'बिग ब्याङ्ग'को सिद्धान्तलाई मान्दै अनुसन्धाताहरूको निष्कर्षलाई मान्ने हो भने मानव जीवनको सुरुवात अफ्रिकाबाट भएको हो । जसबाट थाहा हुन्छ कि मान्छे त एउटै वृक्षको हाँगा रहेछ, चाहे चिनियाँ होस्, नेपाली होस् या जर्मन । बालाई यो अनुसन्धानको पत्तो थियो थिएन मलाई थाहा छैन । तर, धर्मको अफिममा लट्ठिएर जातिवाद र रङ्गभेदको अँध्यारो इनारमा खसेको त्यतिखेरको मानव सोचप्रति उहाँको विश्वास नरहेकोले नै शायद उहाँले मलाई त्यसो भन्नुभएको होला । उहाँकै शिक्षाका कारण ममा यौटा अठोटले जन्म लियो । मैले जात परित्याग गरेँ । मेरा शिक्षक मेरा बालाई त्यसमा आपत्ति भएन । तर, त्यसको परिणाम सुखद थिएन, जीवनमा थुप्रै अप्ठ्यारा, अपमान र अवरोध मैले भोग्नुपर्यो । त्यो कथा पछि । जे होस् मैले मेरो मनसाय पूरा गरेँ, अप्ठ्यारा, अपमान र अवरोध त्यसैले शब्दमा सीमित छन्, घटनाहरू विस्मृत भइसके । तर, गर्नु के ? मैले परित्याग गरेको थरको नाम्लोको समाज खोजिरहन्छ र मेरो थाप्लोमा लगाइदिन चाहिरहन्छ । मैले मेरो जात पखाल्न सङ्घर्ष गर्नुपर्छ घरीघरी । सङ्घर्ष अरू विषयमा गर्नुपर्थ्यो, तर, मलाई यो बेकारको सङ्घर्षको भार थपिएको छ ।
बाको शिक्षा र किताब
बासँग पैसाको सधैँ कमी रहन्थ्यो, त्यसैले बाह्र वर्षको उमेरसम्म म एक्लो सन्तान थिएँ । पैसाको कमीले मेरो स्कूल पनि ढिला प्रवेश भयो । तर, घरमा सेक्सपियरका नाटक, चार्ल्स डिकेन्स र टेगोरका उपन्यास र ओ. हेनरीका कथा सुनाइन्थ्यो, वाचन हुन्थ्यो । बा शिक्षक हुनुहुन्थ्यो तर उहाँले मलाई कहिले पढाउनुभएन । इन्स्पेक्टरको भूमिका हुन्थ्यो उहाँको । अहिले लाग्छ, मैले जसरी पढिरहेको थिएँ, त्यसलाई उहाँले सूक्ष्म ढङ्गले नियाली मात्र रहनुभएको थियो । मेरो सिकाइको गति र तरिका शायद उहाँलाई चित्तबुझ्दो भएर होला, उहाँले मलाई कहिले पनि निर्देशन दिनुपरेन । उहाँको हस्तक्षेप नभएकैले मैले बिना डर र सङ्कोच आफ्नो अध्ययन गर्न पाएँ ।
बाले अधिराज्यव्यापी निबन्ध प्रतियोगितामा स्वर्ण पदक पाउनुभएको थियो । एक ट्याङ्का किताब पुरस्कार स्वरुप पाउनुभएको थियो । प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेका अनुदित विश्व साहित्य र नेपाली उम्दा साहित्यको सँगालो थियो ट्याङ्कामा । मलाई पाठ्यपुस्तकबाहेक अरू पढ्न मनाही थियो । तर, एक दिन बा नहुँदा जब मैले ट्याङ्काबाट चोरेर टेगोरको ‘गोरा’ पढेँ र बाले मेरो चोरी थाहा पाउनुभयो, उहाँले मेरो निम्ति ट्याङ्का खुल्ला गरिदिनुभयो । त्यसबाहेक खाजा खर्चको पैसा जोगाइजोगाई म ‘पराग’ भन्ने हिन्दुस्तानी बाल पत्रिका ल्याएर पढ्थेँ, ‘जे एस्’ भन्ने अङ्ग्रेजी यूथ म्यागेजिन पढ्थेँ । बाको अनुमति थियो त्यसमा पनि ।
बा बितेपछि
बा दिवङ्गत हुनुभएको २० वर्ष नाघ्यो कि? मलाई सम्झना छैन । तर, बालाई बिर्सन गाह्रो छ । म रहुन्जेल बाको सम्झना शायदै मेटिएला । उहाँको सम्झनाबाट म मुक्ति पनि चाहन्न । अन्तिम सास पनि बालाई सम्झिएर जाओस् भन्ने मेरो अभिलाषा छ । उहाँको सम्झना हरेक दिन आउँछ । विभिन्न परिवेशमा विभिन्न तरिकाले उहाँ मेरा सम्झनामा आइरहनुहुन्छ । कहिले रमाइलो लाग्छ कहिले धेरै बेरसम्म विह्वल हुन्छु । म आफैँसँग एकालाप गरिरहेको बेला, चिन्तनको बेला सम्झना आयो भने अलि बढी समयसम्म म उहाँका कुराहरू, व्यवहारहरू सम्झिएर सम्झनाको सुरुङभित्र छिर्छु । नत्रभने बा सम्झनामा आउनुहुन्छ र एक्कै छिन बसेर मेरो काममा विघ्न नपारीकन फर्किनुहुन्छ ।
बाको सम्झना आउँदा म बाका सङ्घर्ष सम्झिन्छु । बाको मिजास सम्झिन्छु । अरूको निम्ति आफूले भ्याएसम्म सहयोग गर्ने उहाँको स्वभाव सम्झिन्छु । उहाँ हाम्रोअघि कहिले पनि उदास नभएको सम्झिन्छु । समाज बदल्ने यात्रामा हिँड्दा उहाँले परिवारका निम्ति गर्नुपर्ने भौतिक कर्तव्य गर्न नपाएको उहाँको पीडा सम्झिन्छु । केही बेर पछि सम्झनाका लहराहरू पन्छाएर मेरो शयन कक्षमा रहेको उहाँको तस्बिर हेर्छु, मनमनै म्वाइँ खान्छु र धूलो जमेको छ भने म पुस्छु र आफ्नो नर्मल लाइफमा हिँडिदिन्छु ।
चाहना बाको
बिचरा उहाँ । उहाँ त संसारमा न्यूनतम आम्दानी हुने रचनात्मक काम गरोस् भन्ने चाहनुहुन्थ्यो, अर्थात् मेरो छोरो कवि बनोस् भन्ने चाहनुहुन्थ्यो । मलाई आर्किटेक्ट बन्ने मन थियो । अनि न यसको न मेरो सपना भनेर उहाँलाई पनि लाग्यो डाक्टर बनोस् । पछि म नेपाल ल क्याम्पस भर्ना भएँ । तर, केही बनिनँ । अन्ततः उहाँकै जित भयो । म कविताकुञ्जको सङ्घारमा पुगेँ ।
बा र मेरा कविता
मेरा गीतहरु बाले सुन्न पाउनुभएन । सोह्र वर्षको छँदा लेखेको पहिलो कविता सुन्नुभयो, खुसी हुनुभयो । एक दुई ठाउँ शब्द सच्याइ पनि दिनुभयो । उहाँले पहिलो कवितामा तीन÷चार ठाउँमा शीशाकलमले शब्द सच्याइदिएको कापी अहिलेसम्म सुरक्षित छ । त्यो प्रोत्साहनकै कारण मैले छ महिनामा बाइस वटा जति कविता लेखेँ । र, त्यही प्रोत्साहनले नै मलाई काव्य पथतिर धकेल्यो । कृतज्ञ छु बासँग ।
बाले समीक्षात्मक प्रतिक्रिया मलाई कहिले पनि दिनुभएन । खाली राम्रो छ, लेख्दै जा भन्नुहुन्थ्यो । शायद उहाँ चाहनुहुन्थ्यो म आफैँ आफ्नो बाटो पहिल्याऊँ, मेरो सत्यको खोजी म आफैँ गरूँ, र मेरो जीवनदर्शनको निर्माण म आफैँ गरूँ । तर, उहाँका साथीहरूसँग भने मेरो लेखनबारे उत्साहित हुँदै चर्चा गर्नुहुन्थ्यो । मेरो अगाडि नभने पनि त्यसको सुइँको मैले पाएको थिएँ ।
बाबारे कविता
बा बारेका दुई वटा कविता लेखेको छु । पहिलो दुई तीन वर्ष अघि लेखेको थिएँ । ठ्याक्कै मिति याद भएन । अर्को एउटा चाहिँ पत्रकार भाइ लक्ष्मण कार्कीका लागि लेखेको थिएँ । त्यसको पनि मिति थाहा छैन । खासमा भएको के थियो भने, लक्ष्मण मसँग कुरा गर्न आएका थिए । त्यो बेला मैले लेखेको बाको कविता उनलाई सुनाएँ । उनले खुब मन पराए । केही दिनमा उनले त्यो कविता रेडियोमा बजाएछन् र त्यसलाई उतारेर अनलाइनमा छापेछन् पनि । तर, मैले त्यसको अन्तिम सम्पादन गर्न बाँकी नै थियो । उनले छापिसकेको कविता थप सम्पादन गर्नु छ, त्यसलाई हटाइदेऊ बरु म त्यसको सट्टा अर्को कविता लेखिदिन्छु भनेँ । त्यसो भन्दा मलाई खल्लो पनि लागेको थियो । तर, लक्ष्मणले खुशी खुशी अनुमति दिए अनि मैले बा सम्बन्धी अर्को कविता लेखेँ र उनलाई दिएँ । मेरा बाको निम्ति एउटा कविता मैले लेखेँ, अर्को लक्ष्मणले लेखाए, जसको जस लक्ष्मणलाई नै ।
जब बाको कृति हराएँ
बाले छ सात वटा कथा र निबन्धका किताब लेख्नुभएको थियो । सबैको एक एकप्रति एकै ठाउँमा बाइन्डिङ गरेर उहाँले एउटा सिङ्गो किताब बनाउनुभएको थियो । त्यो सङ्ग्रह मैले बासँग मागेर मेरो डेरामा ल्याएँ र केही दिनमै त्यसलाई हराइदिएँ । ‘हराउलास् नि, मसँग अर्को प्रति छैन’ भन्नुभएको थियो बाले । त्यसैले म बालाई भेट्न केही महिना गइनँ । एक दिन त जानै थियो– गएँ । बाले ‘खै किताब’ भन्नुभयो । मैले ‘हरायो’ भनेँ । बाको मनमा के चल्यो ? रिसको कुहिरो उठ्यो या खिन्नताको बादल छायो, सबै उहाँको मनमै रह्यो । बाको आँखा र अनुहारमा मैले कुनै भाव नै देखिनँ ।
यस्ता हुनुहुन्थ्यो मेरो जीवनमा मेरा बा ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०, १६:१९