काठमाडौँ । प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षक महासङ्घ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसँग वार्ता नगर्ने भएको छ ।
मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई आज दिउँसो वार्तामा आउन अनुरोध गरेको थियो ।
मन्त्रालयले विज्ञप्ति जारी गरी दिउँसो ३ बजे वार्तामा आउन अनुरोध गरेको भए पनि विधेयक सच्याउने अधिकार मन्त्रालय वा मन्त्रीसँग नभएका कारण वार्तामा नजाने निर्णय भएको महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार राजनीतिक दलका प्रमुख सचेतक, सरकारका आधिकारिक प्रतिनिधिको उपस्थितिमा हुने वार्तामा मात्रै सहभागी हुने निर्णय भएको छ ।
‘विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भइसकेको छ । त्यसलाई सच्याउने भनेको अब सांसदहरूले हो । उनीहरूसँग मात्रै अब छलफल हुन्छ ।’ महासचिव सुवेदीले भन्नुभयो ।
विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि महासङ्घले विरोध र असन्तुष्टि जनाउँदै भोलि देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
आन्दोलनमा सहभागी हुन सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँ आउन थालेपछि पठनपाठन प्रभावित भएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०, ११:५७