विषय प्रवेश
शैक्षिक बहसहरूमा गुणस्तरीय शिक्षा शब्दावलीले विशेष स्थान पाएको छ। गुणस्तरीय शिक्षा हरेक शैक्षिक बहसको मुख्य विषयवस्तुको रूपमा रहेको पाइन्छ। राजनीतिक पार्टीका चुनावी घोषणा पत्रहरूमा पनि गुणस्तरीय शिक्षाका नारा प्रशस्तै पढ्न पाइन्छ। तर विडम्बना यो छ कि गुणस्तरीय शिक्षाका हरेक बहस र नाराहरूमा ठोस योजना र कार्यनीति प्रस्तुत भएको देखिँदैन। गुणस्तरीय शिक्षाको नारा नारामै सीमित छ।
आम अभिभावक, जनप्रतिनिधि र नेपाली सार्वजनिक वृत्तमा गुणस्तरीय शिक्षाको भ्रम रहेको छ। आम जनमानसमा अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्नु, स्तरिकृत परीक्षामा विद्यार्थीहरूले उच्च अङ्क ल्याउनुलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भ्रम व्याप्त छ। विद्यार्थीलाई डर, त्रास, दण्ड, सजाय मार्फत अनुशासन कायम गर्न सक्नु नै शैक्षिक गुणस्तर सुधार हो भन्ने गलत बुझाइ समेत रहेको पाइन्छ।
सार्वजनिक वृत्तमा गुणस्तरीय शिक्षा भन्नाले उच्च अङ्कका साथ परीक्षा पास गर्नु, विद्यार्थीलाई कक्षाकोठाको सीमित घेरा भित्र राखेर पाठ्यपुस्तकका विषयवस्तु जबरजस्ती घोकाउनु र रटन्ते प्रणाली मार्फत परीक्षामा आएको अङ्कलाई आधार मानी उत्कृष्ट विद्यालयको संज्ञा दिँदै विज्ञापन गर्नु र शिक्षाको बजारीकरण गर्नु जस्ता भ्रममा केन्द्रित रहेको पाइन्छ। विश्वमा आर्टिफिसियल इन्टेलिजेन्सले अखडा जमाएको र अझ त्यसमा पनि दिमागमा सेट हुने मेमोरी चिप्सको प्रयोगको कुरा उठ्न थालेको सन्दर्भमा घोकन्ते र कण्ठस्थ पार्ने शिक्षा प्रणालीको उपादेयता कति होला र? यस्तो सन्दर्भमा रचनात्मक र सिर्जनात्मक चिन्तन सहितको शिक्षा प्रणाली मात्र फलदायी बन्न सक्छ भन्ने सोचको विकास भएको पाइँदैन।
प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानमा अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको मानकको रूपमा विज्ञापन गरी शिक्षालाई व्यापारीकरण गरेको पाइन्छ। शैक्षिक गुणस्तरको नाममा अस्पष्ट र भ्रामक विज्ञापन गरी अभिभावक र विद्यार्थीलाई भ्रमित गरिरहेको अवस्था छ। अङ्ग्रेजी माध्यम नै सबै समस्याको समाधान हो भन्ने गलत चिन्तनलाई अभियानको रूपमा सञ्चालन गरिँदै आएको छ। अङ्ग्रेजी माध्यम र अङ्ग्रेजी भाषा सिकाइ फरक कुरा हुन् भन्ने छुट्टाउन नसक्दा अङ्ग्रेजी माध्यम नेपालको शिक्षा प्रणालीमा फेशन नै भएको छ। अनुशासनको नाममा डर, त्रास, दण्ड, सजाय मार्फत कक्षाकोठाको साँघुरो घेरा भित्र सीमित गराई घोकन्ते माध्यमबाट परीक्षामा प्राप्त अङ्क र अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षा भन्नु शिक्षा प्रतिको साँघुरो चिन्तन हो। निजी र सार्वजनिक दुई खाले शिक्षा प्रणालीले निर्माण गरेको खाडलमा गुणस्तरीय शिक्षाको नाममा सार्वजनिक विद्यालयहरूले पनि अंग्रजी माध्यमलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ।
गुणस्तरीय शिक्षा के हो र यसका मापदण्डहरू के के हुन् भन्ने विषयको वस्तुगत ठोस उत्तर दिन शिक्षाविद्, प्राध्यापक, शिक्षक सबै अलमलिएको पाइन्छ। परीक्षामा जसरी पनि उच्च अङ्क ल्याउनु पर्ने परीक्षा मुखी शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षाको मापदण्ड बनाइनु विडम्बना हो। त्यसैले सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक समाजसेवी, शिक्षा प्रेमी, जनप्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरू गुणस्तरीय शिक्षा के हो भन्नेमा स्पष्ट हुन जरुरी छ।
गुणस्तरीय शिक्षाको एउटै र सर्वमान्य परिभाषा पाउन सम्भव छैन। त्यस्तै गुणस्तरीय शिक्षाका मापदण्डको सम्बन्धमा पनि समान अवधारणा रहेको पाइँदैन। गुणस्तरीय शिक्षाका मापदण्डहरूमा समानता नभए पनि राज्यले तय गरेका शिक्षा नीति, शिक्षाका तहगत सक्षमता तथा राष्ट्रिय उद्देश्य प्राप्तिका लागि तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक पूर्वाधार, सिकाइ वातावरण, मूल्याङ्कन प्रणालीको शैक्षिक गुणस्तर सुधारमा भूमिका रहन्छ नै। त्यस्तै विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेसा प्रतिको जबाफदेहिता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरिवेक्षण गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्त्व हुन्। आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरण आर्जन गरी सभ्य, शिष्ट, शालीन, नैतिकवान्, चरित्रवान्, सुसंस्कृत कर्तव्यनिष्ठ, कर्मशील, गतिशील, अनुशासित, स्वावलम्बी, आत्मनिर्भर, समझदारी, आदर्श, नागरिक तयार गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो। व्यवहारिक दृष्टिकोणमा सिकाइ मार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यावहारिक समस्या हल गर्न सक्ने, काम प्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो। परीक्षामा प्राप्त उच्च अङ्कले मात्र गुणस्तर मापन हुँदैन।
गुणस्तरीय शिक्षाले सन्तुष्टिसँग सम्बन्ध राख्दछ। कुनै पनि खानाको परिकार कति गुणस्तरीय छ भन्ने कुरा उक्त खाना खाने व्यक्तिको स्वाद, रुचि, स्वास्थ्य र आवश्यकता अनुसारको सन्तुष्टिमा निर्भर हुन्छ भने उक्त खाना बनाउनेको सन्तुष्टि खाना खाने व्यक्तिको सन्तुष्टिसँग जोडिएको हुन्छ। खाना खाने र खाना बनाउने दुवै सन्तुष्ट भए मात्र उक्त खानाको परिकार गुणस्तरीय बन्न सक्छ। त्यस्तै शिक्षाको गुणस्तर पनि विद्यार्थी, शिक्षक र अभिभावकको सन्तुष्टिमा निर्भर रहन्छ। शैक्षिक प्रणालीका यी तीनै पक्ष सन्तुष्ट भए मात्र शिक्षाको गुणस्तर कायम हुन सक्दछ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छैन। गुणस्तर सुधार शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरूको साझा प्रयत्नबाट मात्र सम्भव छ। शैक्षिक गुणस्तर सुधारका आधारभूत मापदण्डहरू यस प्रकार रहेका छन्।
सक्षम नेतृत्व
शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षम क्षमतावान् दूर दृष्टि र दृढ इच्छा शक्ति भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनु पर्दछ।
उत्कृष्ट शिक्षक
शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको रहेको हुन्छ। विद्यालयमा योग्य, सक्षम, जाँगरिला, समर्पित, शिक्षणलाई जागिरको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा लिएर सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्न सक्ने, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिलाई शिक्षणमा प्रवेश सुनिश्चित गरिनु पर्दछ।
उत्सुक सिकारु
विद्यालयमा बालबालिकाहरू सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्ता रहित भएर सिक्नका लागि सदैव तत्पर रहनु पर्दछ।
नविनतम सिकाइ
सिकाइ परीक्षामूखि मात्र नभएर कुनै पनि प्रकारको डर, त्रास रहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजना कार्यमा आधारित हुनुपर्दछ ।
उपयुक्त भौतिक पूर्वाधार तथा सिकाइ वातावरण
विद्यालयको भौतिक पूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौँ लाग्ने सुसज्जित कक्षाकोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउन्ड घेरा बार, मनोरम हरियाली वातावरण व्यवस्थित पुस्तकालय, प्रयोगशाला डिजिटल सामग्री९कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि० प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह, शिक्षक तथा छात्र छात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्दछ।
समुचित व्यवस्थापन
विद्यालयको शैक्षिक भौतिक आर्थिक पक्षहरू चुस्त दुरुस्त र पारदर्शी हुनु पर्दछ। विद्यालय सुधार योजना निर्माण सामाजिक परीक्षण तथा अन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागिता गराउनु पर्दछ। विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार जबाफदेही र उत्तरदायी बन्नु पर्दछ। विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावक सङ्घले अहम भूमिका निर्वाह गर्नु पर्दछ।
पर्याप्त लगानी
सङ्घ, प्रदेश र स्थानीय सरकारले शिक्षामा यथेष्ट बजेटको व्यवस्था गर्नुपर्दछ।
प्रगतिशील नीति
शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा नीति समय सापेक्ष र प्रगतिशील हुनुपर्दछ।
उपयुक्त सिकाइ सामग्री
गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरल रूपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरु बालबालिकाको रुचि र चाहना अनुकूल सान्दर्भिक, रुचिकर, समय सापेक्ष, रचनात्मक र आजको विज्ञान तथा प्रविधिको युगमा प्रविधिमैत्री हुनुपर्दछ।
नियमित अनुगमन
विद्यालयमा सञ्चालित शैक्षिक गतिविधिको सरकारी संयन्त्र अभिभावक जनप्रतिनिधि एवं सरोकारवालाहरूको नियमित अनुगमन तथा सुपरिवेक्षणले पनि शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्दछ।
उल्लेखित मापदण्डहरूमा गुणस्तरीयता कायम गर्न सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ। शिक्षकको एकल प्रयास गुणस्तर सुधारमा सार्थक बन्न सक्दैन। सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा देखिएका समस्या
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा देखिएका समस्या यस प्रकार छन्।
भौतिक समस्या
क० अव्यवस्थित र जीर्ण भवन तथा कक्षाकोठा
विद्यालयका कतिपय भवन तथा कक्षाकोठाहरू सिक्न र सिकाउन जाँगर नलाग्ने, झ्याल ढोका भित्ता भत्केका, पानी चुहिने, विद्युत् आपूर्ति नभएका, अँध्यारा, हावा नखेल्ने, रङ रोगन नगरिएका, उजाड, उदास, उराठ, बस्नै मन नलाग्ने, रुग्ण, जीर्ण, कालो ओडार जस्ता र त्यसमा पनि अपर्याप्त कक्षा कोठामा कस्तो खालको गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन होला
ख० अनुपयुक्त फर्निचर
बालबालिकाले सिकाइको लागि प्रयोग गर्ने डेस्क बेन्च लगायतका फर्निचर बालबालिका मैत्री नभएका, टुटे फुटेका, भाँच्चिएका प्वाल परेका, अत्यन्तै अप्ठेरो र असहज बसाइमा कसरी गुणस्तरीय सिकाइ सम्भव होला र खै
ग० स्वच्छ सफा खानेपानीको व्यवस्था नहुनु ।
घ० अव्यवस्थित खेलमैदान ।
विद्यालयहरूको खेलमैदान विद्यार्थी सङ्ख्या र तहअनुसार चौडा नभएका, भिराला, पानी जमेर हिलै हिलो सिम जस्तो भएका, ढुङ्गा रोडा भएका असुरक्षित हुनु ।
ङ० कम्पाउन्ड घेराबारा नहुँदा विद्यालयको वातावरण असुरक्षित हुनु तथा विद्यालय परिसर गाई वस्तु बाख्राको चरन क्षेत्र बन्नु साथै बेवारिसे कुकुरको बासस्थल बन्नु र यसले विद्यालयको वातावरण दूषित र अस्तव्यस्त हुनु ।
च० विद्यालयको वातावरण पढौँ पढौँ लाग्ने मनोरम र हरियाली नहुनु
छ० विद्यालयमा पर्याप्त पुस्तक र पुस्तकालयमा बसेर अध्ययन गर्ने व्यवस्था सहितको व्यवस्थित पुस्तकालय नहुनु ।
ज० व्यवस्थित प्रयोगशाला नहुनु साथै प्रयोगशालामा पर्याप्त र गुणस्तरीय सामग्री नहुनु ।
झ० पानी तथा सफाइ सामग्रीको अभावमा शौचालयहरू दुर्गन्धित हुनु ।
ञ० विद्यालयमा चमेना गृह नहुनु ।
ट० शिक्षक तथा छात्र छात्राको लागि विद्यालयमा आवासको व्यवस्था नहुनु ।
ठ० सभा हलको व्यवस्था नहुनु
ड० विद्यालयमा सिकाइ सम्बद्ध आधुनिक प्रविधि९कम्प्युटर, ल्यापटप। स्मार्ट बोर्ड आदि० को पर्याप्त व्यवस्था नहुनु।
शैक्षिक समस्या
क) न्यून तथा असमान विषयगत शिक्षक दरबन्दी ।कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ तर शिक्षक दरबन्दी न्यून छ भने कतै विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ तथापि शिक्षक दरबन्दीको व्यवस्था गर्नुपरेको छ जसले गर्दा एउटा शिक्षकले एक दिनमा लगातार ६/७ पिरियड सम्म त कतै एकै पटक एकै पिरियडमा एउटा शिक्षकले एक भन्दा बढी कक्षाहरूमा पढाउनु परेको छ अनि यस्तो परिस्थितिमा कति बेला पूर्व तयारी गर्नु, कति बेला पाठ योजना बनाउनु र थकित अवस्थामा कस्तो सिकाइ क्रियाकलाप सञ्चालन गर्नु अनि कस्तो गुणस्तरीयता पाउनु होला र खै?
ख) सिकाइ प्रविधि मैत्री नहुनु ।
ग) पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका लगायतका सिकाइ सामग्रीहरू बालबालिकाको रुचि र चाहना अनुकूल नहुनु साथै सहज र सरल रूपमा समयमा उपलब्ध नहुनु ।
घ) प्रत्येक विषयको लागि छुट्टाछुट्टै विषयगत सामग्री सहितको प्रयोगशाला नहुनु ।र
ङ) शिक्षक, विद्यार्थी तथा अभिभावकको लागि प्रोत्साहन तथा पुरस्कार तथा जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई दण्डको व्यवस्था नहुनु ।
च) शिक्षकले आफ्नो जिम्मेवारी बोध नगर्नु साथै दोहोरो पेसामा संलग्न हुनु र शिक्षणलाई जागिरको रूपमा मात्र लिनु ।
छ) सिकाइ परम्परागत लेक्चर शैलीको साथै परीक्षा मुखी हुनु र सिकाइमा नवप्रवर्तनको प्रयोग नहुनु ।
ज) शिक्षक तथा विद्यार्थी लगनशील नहुनु, अनियमित हुनु, विद्यालय आउने जाने तथा कक्षामा पढाउने समयको पालना नगर्नु र सिकाइ भन्दा पनि कोर्स सक्ने तिर बढी केन्द्रित हुनु ।
झ) शिक्षक सक्रिय राजनीतिमा संलग्न हुनु साथै पेसागत हक हितको लागि स्थापना भएका सङ्घ सङ्गठन तथा महासङ्घले विद्यालयका भन्दा राजनीतिक दलका एजेन्डा बढी उठाउनु ।
ञ) राजनीतिक आस्था र पहुँचको आधारमा शिक्षक तथा प्रधानाध्यापक नियुक्त गरिनु ।
ट) अभिभावक शिक्षाको व्यवस्था नहुनु ।
ठ) कक्षाकोठामा सिकाइ कुनाको व्यवस्था नहुनु।
व्यवस्थापकीय समस्या
क) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक पक्षहरू चुस्त, दुरुस्त र पारदर्शी नहुनु ।
ख) विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ म्याद गुज्रिएको लामो समयसम्म राजनीतिक दाउपेच र स्वार्थले गठन हुन नसक्नु तथा उक्त समितिहरूको गठन राजनीतिक पहुँचका आधारमा हुनु ।
ग) विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ साथै शिक्षक स्टाफको नियमित बैठक नबस्नु र बैठक तथा भेलाहरूमा शैक्षिक योजना र गुणस्तर सुधारमा गहन छलफल नहुनु ।
घ) दिवा खाजा व्यवस्थित हुन नसक्नु।
ङ) इन्टरनेट कम क्षमताको हुनु ।
च) शिक्षक तथा विद्यार्थीलाई परिचय पत्रको व्यवस्था नहुनु ।
छ) विद्यालय प्रति अभिभावकको चासो कम हुनु ।
ज) शिक्षामा पर्याप्त लगानी नहुनु ।
झ) नियमित विद्यालय अनुगमन नहुनु ।
ञ) छात्राहरूलाई वितरण गरिने स्यानिटरी प्याड गुणस्तरहीन हुनु र त्यसको प्रयोग पछि डिस्पोज गर्ने व्यवस्था
समस्या समाधानका उपाय
भौतिक पक्षतर्फ
क) विद्यालयका कक्षाकोठा पढौँ पढौँ लाग्ने, सुन्दर, शान्त, सफा, सुसज्जित, विद्युत् आपूर्तिसहितको व्यवस्थित र बालमैत्री।
ख) विद्यालय भवन र कक्षाकोठाका भित्ताहरू प्लास्टर तथा रङ रोगन, झ्याल ढोकामा रङ रोगन, कक्षाकोठाको भुइँ ढलान र पानी नचुहिने छानोको व्यवस्था।
ग) विद्यार्थीले प्रयोग गर्ने फर्निचर सुन्दर, सफा, बस्नलाई सहज हुने, बालमैत्री र एउटा बेन्चमा बढीमा २ जनाको बसाइ व्यवस्था।
घ) विद्यालयको वातावरण सुन्दर, शान्त, मनोरम र हरियाली बनाउन विद्यालय बगैँचाको निर्माण।
ङ) एक शिक्षक एक र्याक सहितको टेबलको व्यवस्था।
च) विद्यालयको कम्पाउन्ड घेराबार गरी सुरक्षित बनाउनु पर्दछ र विद्यालय परिसरमा गाईवस्तुको चरनमा बन्देज ।
छ) दिवा खाजालाई व्यवस्थित बनाउन विद्यालयमा चमेना गृहको व्यवस्था।
ज) पर्याप्त पुस्तक र अध्ययन कक्ष सहितको व्यवस्थित पुस्तकालय।
झ) विद्यालयको व्यवस्थित खेलमैदान।
ञ) पर्याप्त र गुणस्तरीय सामग्री सहित प्रत्येक विषयको अलग अलग विषयगत प्रयोगशालाको व्यवस्था ।
ट) पर्याप्त कम्प्युटरसहितको कम्प्युटर ल्याबको व्यवस्था।
ठ) विद्यालयमा शिक्षक तथा छात्रछात्राको लागि आवासको व्यवस्था ।
ड) विद्यालयमा स्वच्छ सफा खानेपानीको व्यवस्था।
ढ) शौचालयमा पानी तथा सफाइ सामग्रीको व्यवस्था ।
ण) विद्यालयमा एक व्यवस्थित सभा हल।
त) सिकाइसँग सम्बन्धित आधुनिक प्रविधि( कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड) को पर्याप्त व्यवस्था।
थ) छात्राहरूलाई वितरण गरिने सुनिटरी प्याड गुणस्तरीय हुनुपर्दछ र त्यसलाई डिस्पोज गर्ने इसिनिरेटर बर्नर मेसिनको व्यवस्था।
शैक्षिक पक्षतर्फ
क) एक शिक्षकले एक दिनमा ३ देखि बढीमा ४ वटा पिरियड मात्र पढाउने गरी विद्यार्थी सङ्ख्या र तह अनुसार पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न थप शिक्षक दरबन्दी सृजना तथा नजिकको दुरीमा रहेका विद्यालय समायोजन र दरबन्दी मिलान गर्नुपर्दछ।
ख) महिला शिक्षकको हकमा सुत्केरी विद्यामा बसेको अवस्थामा सट्टा शिक्षकको व्यवस्था गर्नुपर्दछ।
ग) बाल शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिक कम्तीमा प्राथमिक र निम्न माध्यमिक तहका शिक्षक सरह र निजी शिक्षकको हकमा सम्बन्धित तहको स्केलमा नघटाई दिनुपर्दछ।
घ) पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका लगायतका सिकाइ सामग्री सरल र सहज रूपमा समयमै उपलब्ध गराउनुका साथै विद्यार्थीको रुचि र चाहना अनुकूल हुनुपर्दछ।
ङ) शिक्षक जिम्मेवार र लगनशील बनी विद्यालय आउने जाने तथा कक्षाकोठामा पढाउने समयको पालना गर्नुका साथै शिक्षणलाई जागिरको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा बोध गरी सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नुपर्दछ।
च) शिक्षकले सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ।
छ) सिकाइलाई प्रविधि मैत्री बनाउन पहिलो अनिवार्य सर्तको रूपमा स्थानीय, प्रदेश वा सङ्घीय सरकारले एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्नुपर्दछ।
ज) विभिन्न बाल सुलभ सिकाइ सामग्री र खेलौना तथा आराम कक्ष सहितको व्यवस्थित बाल कक्षा हुनुपर्दछ।
झ) प्रत्येक कक्षामा सिकाइ कुनाको व्यवस्था हुनुपर्दछ।
ञ) शिक्षक, विद्यार्थी तथा अभिभावकलाई शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्दछ।
ट) सिकाइलाई परम्परागत परीक्षा मुखीको सट्टा रचनात्मक, सिर्जनात्मक, छलफलमा आधारित, खोज तथा अनुसन्धान मूलक, स्थलगत भ्रमणमा आधारित, परियोजना कार्यमा आधारित, नव प्रवर्तनात्मक र बालमैत्री बनाउनुपर्दछ।
ठ) वार्षिक योजना, एकाइ योजना, पाठ योजना तथा विषयगत शिक्षकहरूको साझा योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ।
ड) माथिल्ला कक्षाहरूमा अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्दछ।
ढ) उत्कट शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्थाका साथै आफ्नो जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई दण्डको व्यवस्था हुनुपर्दछ।
ण) शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति राजनीतिक पहुँचको आधारमा नभई योग्यता र क्षमताको आधारमा हुनुपर्दछ।
त) शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्दछ।
थ) अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्दछ।
व्यवस्थापकीय पक्षतर्फ
क) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक गतिविधि चुस्त दुरुस्त र पारदर्शी हुनुपर्दछ।
ख) विद्यालयको सामाजिक परीक्षण नियमित रूपमा हुनुपर्दछ।
ग) विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको म्याद सकिनु अगावै नियमानुसार राजनीतिक प्रभाव तथा हस्तक्षेप रहित वातावरणमा गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ र उक्त समितिहरू विद्यालयको विकासमा पूर्ण जबाफदेही र उत्तरदायी बन्नुपर्दछ।
घ) विद्यालयका शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकको नियमित बैठक बस्नुका साथै बैठकहरूमा शैक्षिक गुणस्तर सुधारमा गहन छलफल गरी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्दछ।
ङ) शिक्षामा यथेष्ट लगानी गर्नुपर्दछ।
च) विद्यालयको रेखदेख गर्न विद्यालय गार्डको व्यवस्था गर्नुपर्दछ।
छ) विद्यालयमा एक नर्स सहित प्राथमिक उपचार कक्ष तथा एक विद्यार्थी परामर्श कक्षको व्यवस्था गर्नुपर्दछ।
ज) शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा उपलब्ध गराउनुपर्दछ।
झ) शैक्षिक पात्रो बनाई कार्यान्वयन गर्नुपर्दछ।
ञ) शिक्षकहरूलाई परिचय पत्रको व्यवस्था गर्नुपर्दछ।
ट) विद्यालय सुधार योजना निर्माण तथा निर्णय प्रक्रियामा अभिभावकको सक्रिय र निर्णयात्मक सहभागि गराउनुपर्दछ।
ठ) नियमित विद्यालय अनुगमन गर्नुपर्दछ। अभिभावकहरू विद्यालयमा साप्ताहिक, पाक्षिक वा मासिक रूपमा विद्यालयमा उपस्थित भएर विद्यालयको गतिविधिमा जानकार हुनुपर्दछ ।
निष्कर्ष:
गुणस्तरीय शिक्षाको मूल मर्म र मापदण्ड अनुसार प्रस्तुत गुणस्तर सुधारका समस्यालाई आत्मसाथ गर्दै समस्या समाधानका उपाय दृढताकासाथ कार्यान्वयनमा शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायत सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव छ।
लेखक गौखुरी मावि मेन्छयायेम, तेह्रथुमका शिक्षक हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०, १७:१६