काठमाडौँ । विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकले आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा बुधबारदेखि शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । पहिलो दिन बुधवार उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका छन्।
देशभरिबाट आएका शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा संलग्न भएका छन् । महासंघले विद्यालयलाई स्थानीय तह अन्तर्गत राख्न नहुनेलगायत माग राखेका छन् । अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षाका शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, सरुवा र कार्यसम्पादन मूल्यांकन प्रधानाध्यापक नियुक्ति, लगायत विषयमा आफुहरुका माग संबोधन हुनुपर्ने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सीआईएनसँग बताउनुभयो ।
शिक्षामन्त्रीले वार्तामा बोलाए पनि महासंघले प्रधानमन्त्रीसँगको वार्तामा मात्र बस्ने भन्दै वार्तालाई वेवास्ता गरी आज प्रदर्शनलाई जारी राख्ने निर्णय गरेको थियो ।
नेपालमा २७ हजार तीन सय ४३ सामुदायिक विद्यालयमा एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०, १७:००