काठमाडौँ । आन्दोलनरत विद्यालय शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ।
हिजो बिहान र साँझ भएको छलफलमा शिक्षक महासङ्घले आफूहरुलाई औपचारिक रुपमा वार्तामा आउनका लागि आह्वान गर्नुपर्ने अडान राखेपछि आज सरकारको तर्फबाट चिठी पठाउने तयारी भएको छ ।
त्यसपछि बिहान ९ बजे वार्ता गर्ने सहमति हिजो साँझ भएको हो।
हिजो बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षक महासङ्घका पदाधिकारीसँगै एक्लै छलफल गरे पनि साँझ भने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ र महासङ्घका पदाधिकारीबिच वार्ता भएको थियो।
सरकारका तर्फबाट आन्तरिक छलफल गर्ने भन्ने भएपछि आज बिहान फेरि बस्ने सहमति भएको वार्तामा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले बताउनुभयो।
प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै सामुदायिक विद्यालयका शिक्षक अस्तिदेखि राजधानीकेन्द्रित आन्दोलनमा छन् ।
सरकारसँग वार्तामा बसे पनि सहमति नहुँदासम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ । शिक्षकहरुले विद्यालय बन्द गराएका कारण सामुदायिक विद्यालयको पठनपाठन हिजोदेखि ठप्प भएको छ ।
विद्यालय शिक्षाका असीमित एकल अधिकार पालिकालाई दिन नहुने, -विद्यालय शिक्षा तीन तहकै सरकारको साझा अधिकारमा हुनुपर्ने, अस्थायी शिक्षकहरूलाई समान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग महासङ्घको छ ।
बालविकासका शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी तलब बढाउनुपर्ने, २०७५ चैतअघि नियुक्ति पाएका शिक्षकलाई पुरानै व्यवस्थाअनुसार पेन्सनको व्यवस्था गर्नुपर्ने, शिक्षकलाई विभागीय कारबाहीको व्यवस्था प्रदेश शिक्षा निर्देशनालयलाई दिनुपर्ने, शिक्षक बढुवाको सवालमा विशिष्ट श्रेणीको व्यवस्था हुनुपर्ने, पेन्सन प्रयोजनका लागि सबै अस्थायी अवधि गणना हुनुपर्ने माग पनि शिक्षकहरुको छ ।
शिक्षकको ग्रेड र तलब सेवासुविधा निजामती कर्मजारीसरह हुनुपर्ने, शिक्षकको सरुवा शिक्षा विभागले गर्नुपर्नेलगायतका माग पनि शिक्षकको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०, ०७:५६