काठमाडाैँ । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि शनिबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने समझदारी समेत भएको मन्त्रालयले जनाएकाे छ ।
सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायत उल्लेख छ ।
सरकार र शिक्षक महासङ्घ शिक्षककाे समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा महासंघ र विज्ञसमेतको प्रतिनिधित्व गराइ अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्न सहमत भएका छन् ।
यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा १० वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने, शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्यालाई आधार बनाउनेलगायतमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ ।
संसदमा विधेयक दर्ता भएसँगै विधेयकका प्रावधानप्रति असन्तुष्ट रहेका शिक्षकले काठमाडाैंँ केन्द्रित आन्दोलन थालेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०, १८:१०