काठमाडौँ । नेपालमा १४ प्रतिशत किशोरीको २० वर्ष नपुग्दै विवाह हुने गरे पनि बाल विवाह सम्बन्धी उजुरी भने निक्कै न्यून सङ्ख्यामा पर्ने गरेको छ ।
राष्ट्रिय महिला आयोगमा गत आर्थिक वर्ष बालविवाहसम्बन्धी २ वटा उजुरी परेको थियो भने राष्ट्रिय मानव अधिकार आयोगमा अघिल्लो वर्ष ३० वटा मात्रै उजुरी परेको तथ्याङ्क छ ।
जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९ / ८० मा जुम्लाका आठवटै स्थानीय तहका ३ सय १० जना २० वर्षमुनिका युवती गर्भवती भएका थिए ।
सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।
तर उनीहरूले कम उमेरमा विवाह गरेको कसैले थाहा पाएनन् । कानुनले विवाह गर्ने उमेर २० वर्ष तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको सङ्ख्या घट्न सकेको छैन ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार बितेको ५ वर्षमा १५ वर्षदेखि १९ वर्षसम्ममा सन्तान जन्माउने किशोरीको सङ्ख्या ३ प्रतिशत मात्रै घटेको छ ।
कुल किशोरी सङ्ख्यामध्ये अझै २ लाख किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माइरहेका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले केही स्थानमा सामाजिक मुल्यमान्यताका कारण पनि बाल विवाह न्यूनीकरण चुनौतीपूर्ण बनेको जानकारी दिनुभयो ।
२० वर्ष नपुग्दै गरिने विवाह कानुनविपरित हुन्छ भने कारबाही प्रक्रियामा गए स्वत खारेज हुन्छ ।
मानव अधिकारककर्मी सुनिता गैरेले कानुन बने पनि कार्यान्वयनमा नजाँदा समस्या भएको बताउनुभयो । २० वर्ष नपुगी विवाह गर्न कानुनले रोकेको छ ।
तर आफूखुसी वा कसैको जोरजबरजस्तीमा त्यसरी विवाह गरे प्रजनन स्वास्थ्यमा समस्या देखिन सक्छ ।
सरोकारवाला निकाय भने बालविवाहको उजुरी घट्दै जानु तर कम उमेरमा गर्भवती हुने किशोरी बढ्नुको कारणबारे गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिन्छन् ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०, ०९:३०