काठमाडाैँ । नेपाल र चीनबीच १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहकार्यको सम्झौता भएको छ। यसैगरी, नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र पनि आदानप्रदान भएको छ।
नेपालको अर्थमन्त्रालय र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ।चीनको यो आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषयमा हस्ताक्षर भएको छ।त्यसैगरी कृषि, पशुपन्छी र माछापालनको विकासका लागि नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालयबीच सहकार्य गर्ने सहमति भएको छ। त्यसैगरी, चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्नेबारे सहमति भएको छ।
यसका साथै चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ। यसैगरी, चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ।
प्रकोप सामग्री, मानव संशाधन र हिल्सा(सिमकोट सडक परियोजना र विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्नेबारेमा पनि नेपाल र चीनबिच सम्झौता भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०, १५:५७