पूर्णप्रसाद न्यौपाने, भिजन एफएम, ओखलढुंगा
लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुईदिन देखि अवरुद्ध छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण बिहिबारदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।
माथिल्लो सगरमाथा क्षेत्रको प्रवेशद्धारमा पर्ने भँडारेको भलका कारण सडक अबरुद्ध भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने/आउने यात्रु अलपत्र परेका छन् ।
ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौं सवारीमा सवार हजारौं यात्रु अलपत्र परेका सवारी चालक प्रशान्त केसीले बताउनुभयो ।
केसीले भन्नुभयो, ‘हिजोदेखि बाटैमा बस्नुपरेको छ । होटल पनि भरिभराउ छन् । यात्रुलाई कहाँ के खुवाउने, कहाँ राख्ने भन्ने समस्या भईसक्यो ।’ उहाँका अनुसार खोलामा लेदो सहितको भल बढेको छ ।
माथिल्लो सगरमाथा क्षेत्रको प्रवेशद्धारमा पर्ने भँडारेको भलका कारण सडक अबरुद्ध भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने/आउने यात्रु अलपत्र परेका छन् ।
भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौं सवारी रोकिएका छन् । त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाण्डौका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन् ।
सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजा समेत नपाउने अवस्था आएको स्थानीय बालेन्द्र अधिकारीले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, ‘दिउँसोको समयमा यात्रुलाई खाना–खाजा खुवाउन चलाईएका सामान्य होटलमा बास बस्न र धेरैले एकै पटक सेवा लिन समस्या देखियो ।’
उहाँले अगाडी थप्पनुभयो, ‘उँभोबाट आएका माथितिरै रोकिएका छन् । तराई र काठमाण्डौबाट आएका घुर्मी र टोक्सेलमै छन् । दुवैतिर बाटो अवरुद्ध भएपछि कतै जाने सम्भावना छैन ।’
तत्काल सडक सूचारु हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रीएका छन् ।
तत्काल सडक सूचारु हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रीएका छन् ।
‘बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकि हिडियो ।’ यात्रु सुस्मिता राईले भन्नुभयो, ‘अब त चाउचाउ खाने पैसा पनि सकियो । साह्रै विजोग भो यात्रा ।’
सडक अवरुद्ध भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन् ।
जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सूचारु गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निरन्तरको वर्षाका कारण ओखलढुंगाका अन्य कच्चि सडक समेत अवरुद्ध भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६, १२:४५