बझाङ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा ताक्लाकोट नाका खुल्ने आशा गरेका नागरिक निराश भएका छन् ।
आम सुदूरपश्चिमबासी र कर्णालीबासीको आशा निराशामा परिणत भएको हो ।
नेपाल र चीनबीचका १४ वटा नाका खुला गरिए पनि ताक्लाकोट नाकाको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा यसबारेमा कुनै सहमति नभएको पाइएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिम सरकार, साइपाल गाउँपालिकाका जनप्रतिनिधि र यहाँका व्यापारीले प्रत्यक्ष भेटेर नाका खोल्नका लागि एजेन्डामा समेटेर चीन भ्रमणमा जान आग्रहसमेत गरेका थिए ।
छिमेकी हुम्ला र दार्चुलाको नाका खुले पनि बीचमा रहेको ताक्लाकोट नाका नखोल्नु् विडम्बना भएको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुभयो ।
यो नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका छन् । ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करिब दुई सय नेपाली व्यवसायी छन् ।
लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेको व्यवसायी जगत तामाङले बताउनुभयो । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०, १०:३३