काठमाडौँ । काठमाडौँ उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएसँगै काठमाडौँ उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको हो ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसपटक इन्द्रजात्राको मुख्य दिन असोज ११ गते विहीबार परेको छ ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा पुलुकिसी नाच नचाउने गरिन्छ ।
राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिने इन्द्रजात्राको दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरिएको छ।
काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुना काठमाडौँ आएका छन् । पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०, १२:२९