काठमाडौँ । चिनीको गुलियो स्वाद धेरैलाई मन पर्छ । त्यसैले पनि मीठो मानेर खान थालेको चिनीको लत नै लाग्ने गरेको छ ।
काठमाडौँ जोरपाटीका उमेश लामाको पाँच जनाको परिवारले मासिक ३ किलो चिनी खपत गर्ने गरेको छ । उहाँको घरमा दैनिक चिनी राखेको चिया मात्र होइन थरी थरीका मिठाई पनि खपत हुने गरेको छ ।
भन्सार विभागको तथ्याङ्क र नेपालमा चीनीको उत्पादनका आधारमा वार्षिक करिब साढे २ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । अहिले मौज्दात सकिएको भन्दै चिनीको मूल्य बढाइएको छ । गत असारमा काठमाडौँमा ९० रुपैयाँ किलोमा पाइने चिनी अहिले किलोको १२५ रुपैयाँ पुगेको छ । तर चिनीको माग भने खासै घटेको छैन । दोलखाका विमला बुढाथोकी आफू दिनमा चार पाँच कपसम्म चिनी राखेको चिया खाने गरेको बताउनुहुन्छ । चिनीको बढेको मूल्यले पनि उहाँलाई चिनी राखेको चिया दिनमा चार पाँच कपसम्म खानबाट रोकेको छैन ।
अहिले बजारमा अभाव भएको भन्दै चिनीको मूल्य बढेको छ । डाक्टर र पोषणविद्हरू भने यसलाई चिनी खान छोड्ने अवसरका रूपमा उपयोग गर्न सुझाव दिन्छन् ।
नेपालमा कति हुन्छ खपत ?
नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको खपत हुने गरेको छ । जसमा वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी नेपालमा नै उत्पादन हुन्छ भने बाँकी भारतलगायत देशबाट आयात हुने गरेको छ । डाक्टरहरूले भने शरीरका लागि आवश्यक मात्रा भन्दा २० गुणा बढी चिनी नेपालमा खपत भइरहेको बताएका छन् ।
शरीरलाई कति चाहिन्छ चिनी ?
अल्का अस्पतालमा कार्यरत पोषणविद् विनीता पन्त नेपालीले औसतमा शरीरलाई आवश्यक पर्ने भन्दा २० गुणासम्म बढी चिनी खाने गरेको पाइएको बताउनुहुन्छ । खास गरी ५० वर्षभन्दा माथिका र ‘बिजनेस पर्सन’ ले चिनी राखेको धेरै चिया खाने गरेको पाइएको उहाँले बताउनुभयो ।
यस्तै कोक, फ्यान्टा, पेप्सीलगायत पेय पदार्थ खाने बानी बढेकाले पनि शरीरमा चिनीको मात्रा थुपार्ने गरेको छ । अहिले यो क्रम सहरमा मात्र सीमित नभई गाउँ गाउँसम्म पुगेको छ । यस्तै चिया भन्नासाथ चिनी राख्नै पर्ने अर्को नकारात्मक बानी पनि विकास भइरहेको छ । यसले पनि चिनीको खपत बढाइदिएको पोषणविद् पन्त बताउनुहुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार एक जना वयस्क व्यक्तिलाई दैनिक १६ सयदेखि १८ सयसम्म क्यालोरी चाहिन्छ । जुन भात, आलु, फलफूललगायतबाट प्राप्त गर्न सकिने डाक्टरहरू बताउँछन् । शरीरलाई चाहिने जति चिनीको मात्रा अन्य खानाबाटै प्राप्त हुने भएकाले चिनी खान आवश्यकै नभएको उनीहरूको भनाइ छ ।
के गर्छ असर ?
सेतो विषसमेत भनिने चिनी धेरै हुनाले शरीरमा सजिलै रोगले आक्रमण गर्ने वरिष्ठ फिजिसियन डाक्टर सूर्य पराजुली बताउनुहुन्छ । चिनीले शरीरमा चाहिनेभन्दा बढी कार्बोहाइड्रेट जम्मा गर्ने र यसले बोसो बढ्ने, नसा साँघुरिने आदि हुने उहाँले बताउनुभयो । यसले गर्दा शरीरमा अनेकौँ स्वास्थ्य समस्या देखिने उहाँको भनाइ छ । मोटोपना, खाना नरुच्ने, मुटुको समस्या जस्ता धेरै रोग लाग्ने भएकाले चिनीको प्रयोग हानिकारक भएको उहाँको भनाइ छ ।
चिनीको मात्रा धेरै भए पछि शरीरका विभिन्न अङ्गमा त्यसको प्रभाव देखिने भएकाले चिनी धेरै खाने बानी सुधार्नै पर्ने हर्मोन विशेषज्ञ डाक्टर मधु पाण्डे सेतो चिनी खानै नहुने बताउनुहुन्छ । ‘जिब्रोको स्वादका लागि खाने गरिएको चिनीले शरीरमा धेरै समस्या निम्त्याउँछ, सीआईएनसँग उहाँले भन्नुभयो, ‘यसले केही पनि फाइदा नगर्ने भएकाले चिनी खाने बानी सुधार्नै पर्छ ।’
कसरी छुटाउने लत ?
खाँदा मीठो लाग्ने अनि बिस्तारै लत नै बस्ने भएकाले स्वस्थ शरीरका लागि चिनीको मात्रा घटाउनै पर्ने डाक्टर र पोषणविद्हरूको सुझाव छ । तर कतिपय उपभोक्ता भने चाहेर पनि चिनीको चङ्गुलबाट बच्नै नसकेको बताउँछन् । डाक्टर र पोषणविद्हरू भने चिनीले शरीरलाई कुनै फाइदा नगर्ने बरु थरी थरीका रोग थप्ने भएकाले चिनी खान्न भन्ने प्रतिबद्धता जनाएर चिनी खान छोड्नुपर्ने बताउँछन् ।
लत लागिसकेकाले एकै पटक छोड्न गाह्रो हुने भएमा चिनीको साटो सख्खर खान पोषणविद् विनीता पन्तको सुझाव छ । सख्खर, खुँदो, गुण भेली आदि खाँदा गुलियो भए पनि सेतो चिनीको जस्तो हानिकारक तत्त्व नहुने र शरीरमा केही हदसम्म पोषणको सन्तुलन पनि हुने बताउनुहुन्छ । त्यस्तै चिया, कफी, दूध, दही, मही खाँदा चिनी नराखी खानुपर्ने उहाँको सुझाव छ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, १५:४३