काठमाडौँ। साना सडक व्यवसायीलाई विकल्प दिन माग गर्दै १९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।
मंगलबारको वार्तामा कुरा नमिले पछि बुधवार भएको वार्तामा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन र प्रमुख बालेन्द्र शाहको सचिवालयका 'धिरज जोशी तथा अभियानकर्ता ई: ले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपछि ईःले आन्दोलन स्थगनको घोषणा गर्नुभएको छ ।
यस्तो छ सहमति पत्र
आज मिती २०८०/०६/१० का दिन काठमाडौ महानगरपालिका र अभियानकर्ता ई विच निम्न बमोजिम सहमति भयो। १. फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने ११९ घण्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनु भएका अभियानकर्ता ई र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने। २. फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने। ३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्नेः क. महानगरपालिकाले तोकेका ३ जना ख. अभियानकर्ता ई. को तर्फबाट तोकिएका प्रतिनिधि २ जना ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना ङ. ट्राफिक प्रहरीको प्रतिनिधि १ जना ४. साविकमा फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।
काठमाडौं महानगरपालिकाको तर्फबाट चिनकाजी महर्जन कार्यपालिका सदस्य
अभियानकर्ता ई: कोतर्फबाट 'धिरज जोशी प्रमुखको सचिवालय
रोहवर: राजकुमार, सड़क व्यापारी प्रतिनिधि
सूर्यकुमार थापामगर (सडक व्यापारी प्रतिनिधि)
भोजकुमारी फुयाँल सडक व्यापार प्रतिनिधि ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, २१:४६