काठमाडौं ।
निरन्तरको वर्षाले देशका विभिन्न ठाउँमा ५ जनाको मृत्यु भएको छ ।
काभ्रेको बनेपा नगरपालिका – ३, नालाको चुनातालमा अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षिया गोमा दंगाल र उहाँकी नातिनी ७ वर्षकी सुहाबी दंगाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बुहारी शुशिला दंगाल र तीन महिनाकी नातिनी अनुस्का दंगाल घाइते भएका छन् ।
घाइतेको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिव साढे १० बजेतिर घरमाथीबाट पहिरो खस्दा ढुंगा माटोले बनेको कच्ची घर पुरिँदा घरमा रहेका चारै जना पुरिएका थिए । काभ्रे प्रहरीका अनुसार पुरिएकामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
काभ्रेको बनेपा नगरपालिका – ३, नालाको चुनातालमा अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
यस्तै, अविरल वर्षाका कारण काभ्रेको चौरीदेउराली गाउँपालिका –४ मजुवा बस्ती जोखिममा परेको छ ।
प्राइम एफएमका अनुसार पहिरोले बाटो अवरुद्ध भएपछि कोशिपारी, खानीखोला, पनौती– ढुंखर्क लगायतका स्थानमा यातायात अवरुद्ध भएको छ । काभ्रेको विकट डाँडापारी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको स्थानीयले बताएका छन् ।
हजुरको रेडियो रामेछापका अनुसार रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
रेडियो उन्नती भोजपुरले पठाएको खबर अनुसार पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि मृत्यु भएको छ । शौचालय गएका बेला पहिरोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
निरन्तरको वर्षाले काठमाडौं उपत्यकामा पनि कतिपय ठाउँ जलमग्न भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६, १४:२१