काठमाडौँ । काठमाडौँ उपत्यकाको सांस्कृतिक पर्व इन्द्रजात्रामा सहभागी हुन बसन्तपुर क्षेत्रमा हजारौँ नागरिक पुगेका छन् । इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमाढोका दरबार क्षेत्रको बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिन्छ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका हुन् ।
हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मन्त्रीहरू, सांसदहरू स्थानीय तहका जनप्रतिनिध लगायतले इन्द्रजात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले परम्पराअनुसार श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिए पछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
प्रताप मल्लको पालामा सुरु भएको मानिने इन्द्रजात्रामा रथयात्रा गर्ने चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, पनि प्रदर्शन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०, १८:२४