काठमाडाैँ । काठमाडौँ उपत्यकाको सांस्कृतिक पर्व इन्द्रजात्रामा यसपटकदेखि नयाँ अभ्यास थालिएको छ । जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेललगायतका उच्च पदस्थ अधिकारीहरू नयाँ सडकको जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुग्नुभएको हो ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकको अगाडीसम्म नै गाडीमा जाने गरेका थिए ।
विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा गाडी लगायत सवारीसाधन लैजान नपाइने युनेस्कोको नियम भएपनि नेपालका राष्ट्राध्यक्षहरूले बसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकसम्मै गाडी लैजाने गरेका थिए ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा सवारी साधन निषेध गरिएको र महानगरको अनुरोधलाई स्वीकारिदिएको भन्दै सबै विशिष्ट व्यक्तिलाई धन्यवाद दिनुभएको छ । राष्ट्रपति, अन्य विशिष्ट अतिथि जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०, १९:३५