काठमाडौँ । नेपालले सन् २०३० सम्म रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने लक्ष लिए पनि यसबाट हुने मृत्यु भने दोब्बरले बढेको छ ।
१० वर्षअघिसम्म औसतमा रेबिजका कारण बर्सेनि १५ जनाको मृत्यु हुने गरेकोमा अहिले यो सङ्ख्या ३० पुगेको सरकारी तथ्याङ्क छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुकुरले टोकेर ७५ हजार ५ सय ६२ जना घाइते भएका थिए । अन्य जनावरले ९ हजार ९ सय २१ जनालाई टोकेको थियो ।
खोप नलगाउँदा मृत्यु पनि हुनसक्ने भएकाले कुनै पनि कुकुर वा जनावरले टोकेको २४ घण्टाभित्र रेबिजविरुद्धको खोप लगाउनैपर्ने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएनसँग बताउनुभयो ।
रेविजका कारण पशुवस्तुहरू मर्नेक्रम पनि बढ्दै गएको पशु चिकित्सकहरूको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार रेबिजका कारण ५ सय पशुवस्तु वार्षिक रूपमा मरिरहेका छन् ।
खुल्लारूपमा हिड्डुल गर्ने रेविज भएका कुकुरहरूको पहिचान गरी नष्ट गर्न नसके आगामी दिनमा रेबिजका कारण मर्ने पशुवस्तुको सङ्ख्या झन बढ्ने चिकित्सकहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०, ०७:४४