काठमाडौँ । नेतृत्व चयन भएसँगै संसदीय समितिले आफ्नो सक्रियता बढाएका छन् ।
सानो आकारको संसदका रूपमा व्याख्या गरिने समितिहरूले गएको भदौ ११ गते नेतृत्व पाएका थिए ।
यसबीचमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समिति बाहेक ११ वटा संसदीय समितिका बैठक लगातार बसिरहेका छन् ।
१ महिनामा सबै समितिका गरी १ सय २४ वटा बैठक बसेका छन् । सबैभन्दा धेरै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको महिनामै १६ वटा बैठक बसेको छ ।
सवैभन्दा कम राज्य व्यवस्था तथा सुसाशन समितिको ५ वटा बैठक बसेको छ । आज पनि ४ वटा संसदीय समितिको बैठक बस्न लागेको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि हुने गरेको दुर्व्यवहार बारे गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाहरूसँग छलफल गर्न लागेको समितिका सभापति भानुभक्त जोशीले सीआईएनसँग बताउनुभयो ।
अर्थ समितिले आज आफ्नो कार्यविधिको मस्यौदा माथि छलफल गर्दैछ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबाट प्राप्त निवेदनमाथि छलफल गर्ने तयारी गरेको छ ।
संसद् गठन भएको करिब ८ महिनासम्म नेतृत्व चयन नहुँदा संसदीय समितिले प्रभावकारी रूपमा काम गर्न सकेका थिएनन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०, १०:४६