काडमाडौँ । देउडा आइडल २०८० हुने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।
देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा सञ्चालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताउनुभयो ।
आइडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहनु हुने भएको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा निर्णायक तथा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आइडललाई सफल पार्न सम्पूर्ण देउडा प्रेमी जनताले सहयोग गर्ने बताउनुभयो । जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने बताउनुभयो ।
निर्णायक एवम् गायक तथा सङ्गीत साधक तिलक सिंह पेलाले देउडा आइडल मानस खण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
कार्यक्रमका संयोजक महेश कुमार औजीले देउडा संस्कृतिलाई जीवन्त बनाउनका लागि देउडा आइडल आयोजन गर्न लागिएको बताउनुभयो । लामो समयको प्रयासपछि देउडा आइडल गर्ने अवस्थामा पुगेको औजीले बताउनुभयो ।
देउडा आइडलको पुरस्कार राशि भने पछी जानकारी गरिने आयोजकले जनाएको छ ।
दिनेश खड्काले निर्देशन गर्ने देउडा आइडल मङ्सिरदेखि टेलिभिजनमा प्रसारण गर्ने तयारी गरिएको छ ।
देउडा आइडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको र कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडेमा हुने आयोजक मञ्चले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०, १९:३६