काठमाडौँ । १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा पुगेको छ ।
आज बिहान चीनको हान्झाउमा भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।
जवाफमा माल्दिभ्स १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७४ रनमै अलआउट भयो ।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिनुभयो । ३ दशलमव ४ ओभर बलिङ गरेका अभिनाशले जम्मा ११ रन खर्चेर यो सफलता हात पार्नुभएको हो । यससँगै अभिनास टी-ट्वान्टी क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलर बन्नुभएको छ ।
नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले सोझै क्वाटरफाइनलमा खेल्नेछन् ।
समूह सी बाट मलेसिया क्वाटरफाइनलमा पुगिसकेको छ । क्वाटरफाइनलको ड्र भोलि हुनेछ ।
क्वाटरफाइनलका खेलहरु पर्सि मङ्गलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल खेल आउँदो शनिबार हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०, १०:२०