काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा १७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विश्वराज पोखरेलले सीआईएनलाई दिनुभएको जानकारी अनुसार खोटाङमा ३, भोजपुरमा २, काभ्रेमा २, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, ललितपुर, दोलखा र पर्सामा १/१, अनि काडमाडौँमा ३ जनाको मृत्यु भएको छ ।
८ जना घाइते भएका छन् ।
बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि केन्द्र, प्रदेश मातहतमा रहेका सबै जनशक्ति परिचालन गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आज दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।
काठमाडौंमा भोलिसम्म नै वर्षा हुने भएकाेले बाढीकाे जोखिम उच्च रहेकाे विभागले जनाएकाे छ ।
"काठमाडौंका बागमती, विष्णुमती, बल्खू खोला, नख्खू, हनुमन्ते, मोहना, धोवि खोला लगायत सवै खोलानाला र होचा भुभागमा उच्च सतर्कता अपनाऔं", विभागले भनेकाे छ ।
वर्षाका कारण वाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन् । विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यही समयमा मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६, १८:१४