काठमाडौँ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) बितेको एक वर्षमा १७ हजारभन्दा धेरै मानिसलाई २७ हजारभन्दा धेरै नेपालीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा दिएको छ ।
सीएमसी नेपालको २१ औँ वार्षिक साधारण सभामा संस्थाकी सचिव खगीमाया पुनले प्रतिवेदन पेस गर्दै गएको आर्थिक वर्षमा मात्रै २७ हजार ३ सय ३१ व्यक्तिले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा लिएको जानकारी दिनुभयो ।
सीएमसी नेपालका अध्यक्ष डा एसपी कलौनीको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा नेपालको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ योगदान पुर्याएकोमा सीएमसी नेपालका पूर्वअध्यक्ष डा. कपिलदेव उपाध्याय र रेविका सिन्हाका साथै संस्थापक सदस्य ज्ञानीदेवी शर्मालाई अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा सम्मान गरिएको छ ।
समारोहमा सीएमसी–नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या पछिल्ला दिनहरुमा झन् जटिल स्वास्थ्य समस्याका रुपमा देखिएको र अनुसन्धानका साथ यसको रोकथामका निम्ती थप कार्यक्रम विस्तार गर्ने रणनीति रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष डा. कलौनीले विभिन्न प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनालगायतका नीतिगत विकास र त्यसको प्रभावकारी कार्यान्वयन गरी बढ्दो मानसिक स्वास्थ्य समस्या, आत्महत्या रोकथाम र मनोसामाजिक सुस्वास्थ्यमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागीले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको मूल मुद्धाका रुपमा लैजानुपर्ने धारणा राखेका थिए ।
७ प्रदेशका ५३ जिल्ला अन्तर्गत २ सय ६ स्थानीय तहमा आफ्ना विभिन्न ११ सामुदायिक मानसिक स्वास्थ्य, विद्यालय मानसिक स्वास्थ्य, द्वन्द्व प्रभावित व्यक्ति वा परिवारका सदस्यका साथै अप्रावसी कामदार तथा उनीहरुका परिवारहरुको मानसिक स्वास्थ्य, लैङ्किक हिंसा रोकथाम तथा प्रतिकार्य, कर्णाली मानसिक स्वास्थ्य, बाल मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता र समावेशीता लगायतका कार्यक्रमहरु सीएमसीले सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०