काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताउनुभएको छ ।
शुक्रबार आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उहाँले विपद्मा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित निर्देशन दिनुभएको हो ।
प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाउनु भएको छ । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सुचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।
सम्पुर्ण स्थानीय तह र जनप्रतिनिधीलाई पनि पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै उहाँले यस घडीमा एक अर्काको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६, २०:२७