‘भूकम्पले क्षति पुगेको बझाङ जिल्ला पुगेका छौँ । आज राति नै चैनपुर पुग्ने छौँ । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौँ । सकेको पहल गर्नेछौँ । रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नुभएको छ ।,’ यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामीछानेले डडेलधुराबाट फेसबुकमा पोष्ट गरेको स्ट्याटस हो ।
त्यसअघि उहाँले भूकम्प आएकै दिन पनि लेख्नुभएको थियो, ‘आजको भूकम्पबाट बझाङ्ग, बाजुरालगायतका जिल्लाहरूमा क्षति पुगेको खवर आएको छ । प्रभावित क्षेत्रहरूमा उद्वार र राहत कार्यलाई तीव्रता दिन सरकार समक्ष अनुरोध गर्दछु । साथै, प्रशासनसँग सहकार्य गरी उद्धार कार्यमा सहयोगी बन्न रास्वपा सदस्यहरूलाई आग्रहसमेत गर्दछु ।’
सभापति रवी लामिछानेका यी दुई स्टाटसपछि मात्रै सङ्घीय सरकारले बैठक बोलाएको र बझाङको भूकम्पले पुर्याएको क्षतिबारे छलफल गरेको देखिएको छब ।
भूकम्पले प्रताडित बनेका बझाङबासी सामु रास्वपा सभापति रवी लामिछाने देखापर्दा सामाजिक सञ्जालमा र बझाङका टोलबस्तीमा वाहवाही भयो ।
डडेलधुराबाट बुधवार दिउँसो एक्कासी बझाङ हानिएका रवीले बझाङका भूकम्प पीडितलाई खुल्ला चौरमै बास बसिरहेको नियाल्नुभयो र सन्चोबिसन्चो सोध्नुभयो ।
सभापति लामिछानेले राति अबेरसम्म सदरमुकाम चैनपुर, जिल्ला अस्पताल अवलोकन गर्दै पीडितसँग कुराकानी गर्दैगर्दा धेरैले स्वागत गरे ।
आज बिहीवार बिहानै उठेर केही राहत सामग्री प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे समक्ष हस्तान्तरण गर्नुभयो ।
त्यसपछि पत्रकारलाई छोटो समय दिएका रवीले आफू चुनाव केन्द्रित नभइ जनतालाई मल्हमपट्टी लगाउन र क्षतिबारे बुझेर सरकारलाई घचघच्याउन बझाङ आएको प्रतिक्रिया दिनुभो ।
आफू बझाङ आउनुले मात्रै पनि राज्यको नजर पर्नेसमेत उहाँको दाबी थियो । त्यसपछि उहाँले कुरा छोट्याएर प्रभावित क्षेत्रतर्फ जान लागेको जानकारी दिनुभयो ।
रवी अहिले बझाङका पार्टीका पदाधिकारी र पशंसकसहित प्रभावित क्षेत्रको अवलोकनमा जानु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्री तथा जनप्रतिनिधि भने भोलि मात्रै बझाङमा भूकम्पले पुर्याएको क्षतिका बारेमा बुझ्न जाने निर्णय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०, १४:२०