‘जन आएइ काल
यति रुप्स्या हौसियाखी
जन आएइ काल’
अर्थात् ‘यति राम्री रुपकी सुन्दरी, खुब रहर बोकेकी मान्छे लिन काल नआउनु ।’
बझाङकी गुनमती धामीले गाएको यो गीत सामाजिक सञ्चालमा धेरैले हेरेका छन् । ठाडी भाकाको यो गीत गीत गुनमतीले नन्द सिन्कीदेवी बोहरा र भाउजु रतनादेवी बोहराले खेतको कान्लामा भटमास केलाउँदै गाउनुभएको थियो ।
तर, संयोग कस्तो पर्यो भने आफ्ना नन्द र भाउजुसँग मिलेर यो गीत गाएको १ वर्ष बित्न नपाउँदै गुनमतीको मृत्यु भयो । जयपृथ्वी नगरपालिका–११ मयाना (ओखल) टोलकी ५१ वर्षीया गुनिदेवी धामी (गुनमती) को असोज १६ गते आएको भूकम्पमा परी निधन भएको हो । घरबाट ५ मिनेटको दुरीमा टिम्मुर टिप्दै गर्दा भूकम्पका कारण माथिबाट झरेको ढुङ्गाले लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
आफुसँग फोनमा कुरा गर्दै टिमुर टिपिरहेकी आमासँग अचानक फोन सम्पर्क टुटेपछि फेरि फोन लगाउने प्रयास गरेको तर सम्पर्क हुन नसकेको र भोलीपल्ट आमाको मृत्यु भएको कुरा थाहा पाएको उहाँकी माइली छोरी पात्याले बताउनुभयो ।
लगातार भूकम्प आइरहेकाले तत्कालै खोजी गर्न कठिनाइ भएको र भोलीपल्ट प्रहरीसँग मिलेर खोजी गर्दा टिम्मुर टिपिरहेको ठाउँबाट करिब २ सय मिटर तल गुनमतीको शव भेटिएको स्थानीय बासिन्दाले जानकारी दिए ।
गुनमती डेउडा गाउन र खेल्न पोख्त भएको गाउँलेहरु बताउँछन् । उहाँ मयानाकी अगुवा नागरिक पनि हुनुहुन्थ्यो ।
निलकट्टी माद्यामिक विद्यालय, लटिनाथ आधारभुत विद्यालयको व्यवस्थापन समितिकोपूर्व सदस्य हुनुहुन्थ्यो । उहाँ २९ वर्षदेखि स्वास्थ्य स्वयम्सेविका पनि हुनुहुन्थ्यो ।
उहाँका दुई छोरी र एक छोरा छन् । छोरा श्रीमतिसँगै रोजगारीका लागि भारतमा रहेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०, १८:०९