टीकापुर । इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरूको चाँडो उद्दारका लागि पहल गर्न परिवारका आफन्तले माग गरेका छन् ।
आज कैलालीको टीकापुरमा टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले निकालेको मौन ¥यालीका सहभागिहरूले त्यहाँ विद्यार्थी फसिरहेको जानकारी आएकाले तिनीहरूको चाँडो उद्दार गर्न माग गरेका हुन् ।
उनीहरूले अहिलेसम्म पनि विद्यार्थीहरू पानी नपाएर बङ्करभित्र बसीरहेको भन्ने खबर आएकाले चाँडो उनीहरूको उद्दार नगरे ज्यान तलमाथि हुन सक्ने भन्दै सरकारलाई त्यसको लागि पहल गर्न दोस्रो सेमष्टारका विद्यार्थी गुरुप्रसाद अधिकारीले आग्रह गर्नुभयो ।
अर्का विद्यार्थी प्रमीला शर्मा पनि आफ्नो क्याम्पसबाट इजरायल गएका अग्रज साथीहरू केहीको मृत्युसमेत गइसकेको र केही घाइते भएकाले उद्दारमा सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिस घिमिरेले अहिलेसम्मको तथ्यांक अनुसार आफ्ना १० जना विद्यार्थीको मृत्यु भइसकेको र ४ जना विद्यार्थी घाइते अवस्थामा रहेको खबर प्राप्त भएको बताउनुभयो ।
सरकारले समयमा उनीहरूको उद्दारका लागि पहल नगरेपछि आफ्ना अन्य विद्यार्थीहरूको पनि ज्यान खतरमा पर्न सक्ने भएकाले त्यसको लागि सरकारले चाँडो पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
मृत्यु हुने सबै कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसबाट इजरायल गएका विद्यार्थीहरु हुन् ।
नेपाल सरकार र इजरायल सरकारको समन्वयमा सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्यायनरत आठौँ सेमष्टारका ४९ जना विद्यार्थी गएको भदौ महिनामा लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत इजरायल गएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०, ११:४२