कालीबहादुर परियार
जुम्ला । जुम्लाको चन्दननाथ माविले आफ्नो निर्णय विपरीत फुटबल खेलेको भन्दै निष्कासन गरेका १२ जना छात्रा विद्यालय फर्किने भएका छन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, जनप्रतिनिधिसहितको बैठकले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरी तत्काल कारबाही फिर्ता गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिनुभयो । सामान्य गल्तीमा यति ठुलो सजाय दिनु उपयुक्त नहुने भएकाले निर्णय सच्याउन विद्यालयलाई आग्रह गरिएको भण्डारीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रोकायाले विद्यालयले हिजो आवेगमा अपरिपक्व निर्णय गरेको भन्दै अब त्यसलाई सच्याएर छात्रालाई पठनपाठनमा सहभागी गराइने उहाँले बताउनुभयो ।
यसअघि, आइतबार जिल्ला फुटबल सङ्घ जुम्लाले आयोजना गरेको विद्यालय स्तरीय फुटबल प्रतियोगितामा विवाद भएपछि बाँकी खेल नखेल्ने विद्यालयको निर्णय विपरीत फुटबल खेलेकाले उनीहरूलाई निष्कासन गरिएको विद्यालयले जनाएको थियो । विद्यालयका प्रधानाध्यापक टङ्क महतले रेफ्रीले भेदभावपूर्ण निर्णय गरेका कारण विद्यालयले नखेल्ने निर्णय गरेकोमा निर्णय विपरीत विद्यार्थीले फाइनल खेल खेलकाले उनीहरूलाई अनुशासनको कारबाही गरिएको बताउनुभएको थियो ।
यस्तो थियो घटनाक्रम
जिल्ला फुटबल सङ्घ जुम्लाले अन्तर विद्यालय १६ वर्षमुनिको फुटबल प्रतियोगिता आयोजना गरेको थियो । चन्दननाथ माध्यमिक विद्यालयले छात्र र छात्रा दुबै स्पर्धामा भाग लिएको थियो । असोज १७ गते भैरव माध्यमिक विद्यालयसँग सेमिफाइनल खेल भइरहेका बेला खेलमा विवाद भयो । आफ्नो टोलीले गरेको गोललाई रेफ्रीले मान्यता नदिएको भन्दै चन्दननाथ माविले छात्रातर्फको बाँकी खेल पनि नखेल्ने घोषणा गर्यो ।
छात्रहरुको सेमिफाइनलमा भएको गोललाई मान्यता नदिइएकोमा जिल्ला फुटबल सङ्घमा उजुरी पनि गर्यो । तर, सङ्घले तत्काल कुनै निर्णय नगरेपछि प्रतियोगिताका बाँकी खेल खेलाइयो ।
चन्दननाथ मावि छात्रातर्फको स्पर्धाको फाइनलमा पुगेको थियो । विद्यालयले दुवैतर्फका खेल नखेल्ने घोषणा गरेको भए पनि विद्यार्थीले आफैँ निर्णय गरेर प्रतियोगिता खेलेका कारण विद्यालय प्रशासनले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।
छात्राहरूले भने छात्रतर्फको खेलमा मात्र विवाद भएको र आफूहरू फाइनलमा पुगिसकेकाले खेल्न नजाँदा विपक्षी टिमले स्वतः उपाधि जित्ने भएकाले फाइनल खेल्ने निर्णय गरेको बताएका छन् । ‘सबै जना यसमा सहमत भएपछि फाइनल खेलेको एक खेलाडीले बताउनुभयो ।’
चन्दननाथ माध्यमिक विद्यालयले एन्फाले अन्याय गरेको भन्दै नियम विपरीतको निर्णय सच्याउन जिल्ला फुटबल सङ्घलाई निवेदन दिएको छ । तर सङ्घका अध्यक्ष भरत बुढ्थापाले खेल अवधिभर रेफ्रीको निर्णय मान्नै पर्ने नियम भएकाले रेफ्री र अफिसियलको निर्णय नमान्नु अपरिपक्व कदम भएको बताउनुभयो । तर निवेदन दिँदा दिँदै पनि कुनै कारबाही नहुनु अन्याय भएको प्रधानाध्यापक महतको भनाइ छ ।
जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्र हमालले विद्यार्थी विद्यालयको जर्सीमा आएपछि खेलमा सहभागी गराइएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०, १५:०२