काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत शिक्षा क्षेत्रका सरोकारवालाले विद्यालय शिक्षा परीक्षा एसईई खारेज गर्न नहुने बताएका छन् । शिक्षालय मासिकले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले एसईई खारेज गरे विद्यालय शिक्षाको गुणस्तर घट्ने दाबी गरेका हुन् ।
कार्यक्रममा कार्यपत्र पेश गर्दै शिक्षा पत्रकार प्रकृती अधिकारीले एसईई परीक्षाको आवश्यकताको बारेमा सबैलाई जानकारी बाँड्नुपर्ने बताउनुभयो । प्रोजेक्ट पोसिवल नेपालका सिईओ विजेन्द्र प्रधानले एसईईको फाइदा वेफाइदाका वारेमा चर्चा गर्नुभएको थियो ।
यसैगरी ललितपुरको लालिगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले एसईईका कारण किशोरकिशोरी कुलतवाट बचेको दाबी गर्नुभयो । परीक्षामा केन्द्रित भएर अध्ययन गर्नुपर्ने हुनाले किशोरकिशोरी कुलतमा फस्न नपाएको उहाँको भनाइ थियो ।
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)का अध्यक्ष भोला चालिसे, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, काठमाडौँ प्याब्सनका बरिष्ठ उपाध्यक्ष नवराज भट्ट, हिसानका केन्द्रिय उपाध्यक्षहरु रामहरी सिलवाल, दीपिका रिमाल थापा, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतमलगायतले एसईईको महत्वको बारेमा धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०, ११:१०