जुम्ला । भेडी गोठ र गाई भैंसी बेसी झारेपछि पाटन सुनसान छ, तर पाटन छेवैमा भने मानिसको चहलपहल छ । सडकको दक्षिणपट्टि रहेको बगैँचामा सजिएका राताम्य स्याउ टिप्नेहरू कल्याङमल्याङ गरिरहेका छन् ।
जुम्लाको लेकाली भेगमा यति बेला स्याउ टिप्ने चटारो छ । यस्तै चटारो रहेको जुम्लाको मिनी गुठिचौरमा रहेको यो बगैँचामा स्याउका १४ हजार बिरुवा रोपिएको छ । तीन वर्षअघि बिरुवा रोपिएको एकीकृत फुजी स्याउको बगैँचाबाट पहिलो वर्ष स्याउ टिपिँदै छ ।
२ हजार ९ सय मिटर उचाइको मिनी गुठी चौरको २२ हेक्टर क्षेत्रफलमा हिमाली टी एन्ड एग्रो फार्मले फुजी स्याउको बगैँचा बनाएपछि सयौँ स्थानीयबासिन्दाले रोजगारी पाएका स्थानीय युवा लक्ष्मण सुनारले बताउनुभयो । यो बगैँचाले कृषि पर्यटनमा पनि सघाइरहेको छ । लक्ष्मणकाअनुसार ‘स्याउ बगैंचाकै काम गर्न भारतको सिमला, साङ्ला, रिंकाङ, रुडु, कोठखाई पुग्नेहरु गाउँकै बगैँचामा काम गरिरहेका छन् ।
गुठिचौरमा ठुला दुई वटा एग्रो फार्मले स्याउ टिप्ने याममा सयौँ जनालाई रोजगारी दिइरहेका छन् । यो बगैँचामा १६ जना कर्मचारीले बगैँचा व्यवस्थापन गरिरहेका छन् ।
यो वर्ष यो बगैँचाबाट ४० टन स्याउ उत्पादन गर्ने र जसबाट ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको सञ्चालक टङ्क गिरीले सीआईएनसँग बताउनुभयो । स्याउलाई व्यापारीले बगैँचामै प्रतिकिलो २ सय ५० रुपैयाँ दिन तयार भए पनि आफै काठमाडौँ पुर्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
गुठिचौरमै रहेको अर्को बगैँचामा ३८ हजार फुजी स्याउका बिरुवा रोपिएको छ । गुठीचौर एग्रो फार्मले २०७६ सालमा २८ करोड रुपैयाँको लागतमा स्थापना गरेको यो बगैँचाबाट स्याउ उत्पादन हुन थालेको छ । यो वर्ष यो बगैँचाबाट झन्डै तीन करोड रुपैयाँको स्याउ बिक्री गर्ने अनुमान गरिएको सञ्चालक केसीबहादुर भण्डारीले बताउनुभयो । यो फार्ममा सिजनमा डेढ सयदेखि ३ सयसम्म स्थानीय बासिन्दा बगैँचाको काममा जोडिन्छन् ।
करोडौँ लगानी गरेर बगैँचा स्थापना गर्नुको उद्देश्य नाफा मात्रै नभएर स्थानीयलाई रोजगारी र कृषि पर्यटनको आधार तय गर्नु पनि रहेको दुवै फर्मका सञ्चालकहरू बताउँछन् ।
एकीकृत फुजी स्याउको बगैँचाभित्र जडीबुटी खेती, बाहिर कालिज पालन, होटेल सञ्चालन र रेम्बो ट्राउट माछा पालनको पनि तयारी थालिएको सञ्चालक गिरीले बताउनुभयो । नजिकै पर्याप्त पानीको सुविधा भएकोले बहु आयमिक व्यवसायको प्रचुर सम्भावना रहेको उहाँको भनाई छ ।
मिनी गुठिचौरको बगैँचा भ्रमण गर्ने पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । बगैँचाभित्र पर्यटकले जति पनि स्याउ खान पाउने नियम बनाइएको छ ।
बगैंचाहरु पाटनको छेउमा भएकाले असिनाको जोखिम रहेको फार्मका प्राविधिक हिक्मत रोकाया बताउनुहुन्छ । स्याउमा दादे, डढुवा, पेपरीवार्क लगायतका रोग देखिएको छ । जुम्ला अर्ग्यानिक जिल्ला भएकोले बगैँचामा देखिएका रोग किराको जैविक विधिबाटै नियन्त्रण गर्नुपर्ने स्याउ सुपर जोन जुम्लाका कृषि अधिकृत विनीता श्रेष्ठले बताउनु भयो । बगैँचा व्यवस्थापनमा ध्यान दिन सके रोग कीराको प्रकोप स्वतः घट्ने उहाँको भनाइ छ ।
यी दुई ठुला फार्मले जुम्लालाई अर्ग्यानिक स्याउ खेतीमा अझ चिनाउने आशा यहाँका बासिन्दाको छ ।.
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०, १४:२४