काठमाडौँ । विश्वकप फुटबल २०२६ को एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले बिहीबार लाओससँग खेल्दैछ । लाओस फिफा बरीयतामा १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन्।
गत मार्चमा नेपालमा भएको थ्री नेसन्स कपमा नेपालले लाओससँगका दुवै खेल जितेको थियो ।
लाओसकै पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहनुभएका प्रशिक्षक कन्लाया सिसोमभाङले बरीयतामा तल माथी भए पनि मैदानमा ९० मिनेट खेलेर खेल जित्ने प्रयास गर्ने बताउनुभयो ।
घरेलु मैदानमा खेल्न लागेको नेपाल अझ उत्साही देखिएको छ। म्यानमारसँगको मैत्रीपूर्ण खेलमा राम्रो खेलेको नेपाली टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालले जित्नका लागि खेल्ने बताउनुभएको छ ।
टिम सन्तुलित र बलियो रहेको तथा घरेलु मैदान र दर्शकको समेत समर्थन हुने भएकाले नेपाललाई फाइदा पुग्ने प्रशिक्षक अनेसेको भनाइ छ । प्रि म्याचमा कप्तान किरण लिम्बू र प्रशिक्षक अनेसे खेलका बेला मैदानमा उपस्थित भएर हौसला बढाइदिन समर्थकलाई आग्रह गरेका थिए ।
खेल बेलुका साढे ५ बजेपछि दशरथ रङ्गशालामा सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०, ११:२८