काठमाडाैँ । नेपालले यू १९ प्रिमियर कप क्रिकेटमा इरानलाई २ सय ७४ रनले हराएको छ । ३ सय ५४ रनको ठूलो लक्ष्य पाएको इरानलाई ३१ औँ ओभरमा ७९ रनमा अल आउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।
इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेल र सुवास भण्डारीले तीन तीन विकेट लिनुभयो । दीपेशले मात्र ४ रन र सुवासले ६ रन खर्चेर यो सफलता हात पार्नुभयो । यस्तै हेमन्त धामी र आकाश चन्दको नाममा दुई दुई विकेट रह्यो।
मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१ औँ ओभरमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले १ सय रन बनाउनुभयो । उहाँले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्नुभएको थियो । यू १९ मा देवको यो दोस्रो शतक हो ।
यस्तै दीपकप्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाउनुभयो । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । नेपालले असोज २८ गते बहराइनसँग र कार्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०, १३:०७