काठमाडौँ । इजरायलमा रहेकामध्ये २५० जना नेपाली आज राती काठमाडौँ आइपुग्ने भएका छन् । नेपाल फर्कन चाहने नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान इजरायलको राजधानी तेल अभिभमा पुगेको छ ।
विमान २५० जना नेपालीलाई लिएर बिहीबार राति सवा ९ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ । नेपाली नागरिकलाई लिन परराष्ट्र मन्त्री एनपी साउद आफैँ विमानमा इजरायल जानुभएको छ।
इजरायलमा रहेकामध्ये झण्डै ४ सय जना नेपालीले स्वदेश फर्कन अनलाइन फाराम भरेका इजरायलमा रहेको नेपाली राजदूतावासले जनाएको छ । विद्रोही समूह हमासको आक्रमणमा परी नेपालका १० जना विद्यार्थीको निधन भएको छ ।
उनीहरूको शव भने पोस्टमार्टम लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नेपाल ल्याउन अझै केही समय लाग्ने सरकारले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०, १४:२५