काठमाडाैँ । नेपाली काँग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि काँग्रेस र सत्तारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । काँग्रेस नेता शेखर कोइराला निकट रहेका कार्कीले एमालेका ३९ सहित ४७ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेपछि काँग्रेस र गठबन्धनभित्र खैलाबैला मच्चिएको हो ।
कार्कीको पक्षमा काँग्रेस सांसदहरू रामकुमार खत्री, लीलाकुमारी राई, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् ।
माओवादी केन्द्रका आङ्बोले भने आफूलाई गठबन्धनका सबै दलहरूको समर्थन रहेको र केन्द्रीय स्तरमा यो विषयमा सहमति भइसकेकाले सबैले समर्थन गर्ने बताउनुभयो । उहाँले पनि आफूलाई ४७ जना सांसदको समर्थन रहेको भन्दै दाबी पेस गर्नुभएको छ ।
तर कार्की पक्षले भने आङ्बोले काँग्रेसका सांसदको हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । आफूलाई समर्थन गरेका ८ जना सांसदको हस्ताक्षर आङ्बोले दुरुपयोग गरेको भन्दै सबै सांसदलाई उपस्थित गराउन कार्कीले माग गर्नुभयो । सीआईएनसँग कार्कीले अब दलीय ह्विप नलाग्ने भएकाले आफूले दाबी पेस गरेको र कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो । पार्टीभित्र यसअघि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय नभएको र धारा १६८ (५) अनुसार दाबी पेस गर्न सबै सांसद स्वतन्त्र रहेको उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनका दलहरूबिच माओवादीका आङ्बोलाई उम्मेदवार बनाउने सहमति भए पनि ठुलो दल काँग्रेसभित्रका असन्तुष्ट सांसदले एमालेको समर्थनमा केदार कार्कीको उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेस सचेतक भूपेन्द्र राईले भने यसबारेमा छलफल गरी कार्कीको उम्मेदवारी फिर्ता गराउन पहल गर्ने सीआईएनसँग बताउनुभयो । प्रदेश संसदीय दलको बैठकले निर्णय नै गरेको भन्दै त्यस विपरित कार्कीको उम्मेदवारी हुन नसक्ने उहाँको भनाइ छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते राजीनामा दिए पछि प्रदेश प्रमुख परशुराम खापुङ्ले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको छ । मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने वा आफैँ दाबी पेस गर्ने भन्नेबारे छलफल गर्न राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक भोली बिहान बस्दै छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०, २०:०८