काठमाडौँ । सरकारले वीर अस्पतालमा कार्यरत २ सय ४० जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएपछि उपचार सेवा प्रभावित भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना महामारीका बेला नियुक्त गरिएका ५१ जना डाक्टर, १ सय ६० जना नर्स, ११ जना ल्याब टेक्निसियनलगायत २ सय २७ जना स्वास्थ्यकर्मीलाई विदा गरेको छ ।
एकै पटक यति धेरै स्वास्थ्यकर्मी नहुँदा आईसीयूका ५९ मध्ये २३ शैय्या बन्द भएका छन् । पछिल्लो समय सातामा ३ दिन गर्न थालिएको मिर्गौला प्रत्यारोपण पुनः १ दिनमा झारिएको छ ।
आकस्मिक कक्षमा कार्यरत १५ जना डाक्टर नहुँदा आकस्मिकको सेवा पनि प्रभावित भएको वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय पूर्ण क्षमतामा सञ्चालन हुन थालेको वीर अस्पतालको कर्मचारी कटौती गरेपछि उपचार सेवा पुनः प्रभावित हुने पौडेलको भनाइ छ ।
यसका लागि स्वास्थ्यकर्मीको नियुक्ति गर्न मन्त्रालयमा बारम्बार अनुरोध गरिरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने कोरोनाका बेला सर्जिकल भवन सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्ले करारमा स्वास्थ्यकर्मी नियुक्त गर्ने निणर्य गरेको र हाल कोरोना महामारी नरहेकोले स्वास्थ्यकर्मी हटाएको जनाएको छ ।
स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवामा पर्ने प्रभाव बारे वीर अस्पतालले जानकारी नगराएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वीरको स्वास्थ्य सेवा प्रभावित भएकोबारे आफूहरूलाई जानकारी नभएको र स्वास्थ्य सेवा प्रभावित भएकोबारे जानकारी गराए मन्त्रालयले व्यवस्था गर्ने जानकारी दिनुभयो ।
वीर अस्पताल आम नागरिकको स्वास्थ्य उपचारको मुख्य केन्द्रका रुपमा रहेको छ ।
एकै साथ धेरै स्वास्थ्यकर्मीलाई हटाइँदा, सेवा सुधार गर्दै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अलपत्र परेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०, ११:२६