काठमाडौँ । नेपालीहरुको महान चाड दसैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने परम्परा छ ।
घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका साथ टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
सीआईएनसँग कुरा गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा श्रीकृष्ण अधिकारीले घटस्थापनाका लागि उत्तम समय बिहान ११ बजेर २९ मिनेट रहेको बताउनुभयो ।
जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।
घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा सुरु हुन्छ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०, ०७:०४