काठमाडौँ । पानी परिरहेको समयमा सवारीसाधन चलाउँदा दुर्घटनाको उच्च जोखिम रहने भएकाले सावधानी अपनाउन ट्राफिक प्रहरीले सवारी धनीहरुलाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक महाशाखा, काठमाडौँले आज बिहान एउटा सूचना सार्वजनिक गर्दै पानी परेको बेलामा सवारीसाधन चलाउँदा सचेत हुन आग्रह गरेको हो ।
भिजिबिलिटी कम भएको समयमा सवारीसाधनको हेडलाइट बाल्नुपर्ने भएकाले यात्रा सुरु गर्नुअघि वाइपर र हेडलाइटको अवस्था जाँच गर्न महाशाखाले भनेको छ ।
'पानीले भिजेको सडकमा ब्रेक कम लाग्नसक्ने र सवारीसाधन अनियन्त्रित भएर दुर्घटना हुने भएकाले सवारीसाधनको गति कम गरी चलाउनुपर्ने र सामुन्नेको सवारीसाधन र आफ्नो सवारीसाधनबीच सामान्य अवस्थाको भन्दा बढी दुरी राखेर यात्रा गर्नुपर्छ।' महाशाखाले निकालेको सूचनामूलक सन्देशमा उल्लेख गरिएको छ ।
सवारीसाधन चलाउँदा मोबाइल, ट्याबलेट लगायतका साधनको प्रयोग नगर्न र ध्यान मोडिने खालका अरु गतिविधिमा संलग्न नहुनु पनि ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६, ०८:४४