काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । बहराइनले दिएको मात्र ७८ रनको लक्ष्य नेपालले १२ औँ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनल नजिक पुगेकाे छ ।
तेस्रो ओभरमा १० रन जोड्न ३ विकेट गुमाएर धर्मराएको नेपालको इनिङ कप्तान देव खनाल र अर्जुन कुमाल मिलेर उकास्नुभयो । उहाँहरुले चौथो विकेटका लागि अविजित ६८ रनको साझेदारी गरेपछि नेपाल ७ विकेटले विजयी भएको हो । अर्जुन र देवले समान अविजित ३२ रन बनाननुभयो ।
मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३८ औँ ओभरमा ७७ रनमा अलआउट भयो। नेपालका दिपेश कडेँलले ६ विकेट लिनुभयो । ९ ओभर ५ बल बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिनुभयो । यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिनुभयो । उहाँले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चनुभयो ।
समूह चरणको अन्तिम खेलमा नेपालले कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने छ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०, १४:१३