मुगु । विकट जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन हुँदा मुगुसहित कर्णालीका नागरिकलाई सुविधा भएको छ ।
मुलुकभरका ४२ जिल्लाका ४८ स्थानमा सरकारले दसैँतिहारलगायतका चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय गमगढी मुगुमा सुपथ मूल्यको चामल लिन सर्वसाधारणको भीड लाग्ने गरेको छ । खाद्य कम्पनी मुगुले चामल प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिइरहेको छ ।
एक सय रुपैयाँ बचत भए पनि नुुन तेलमा उपभोग गर्न सघाउ पुग्ने स्थानीयवासी खुम्मेनी कामीले बताउनुभयो । सेवाग्राहीहरूले आफ्नो नागरिकताको प्रमाणपत्र लिएर आएमा प्रति व्यक्ति १ जनाले २ प्याक चामल पाउँछन् ।
बिहानबेलुका छाक टार्न मुस्किल पर्ने विपन्न नागरिकलाई बजारको २ हजार देखि २५ सयसम्म महङ्गो चामल खाएर गुजारा चलाउनुपर्ने बाध्यता छ ।
खाद्य कम्पनीले मुगुमा हालका लागि ३ प्रकारका चामल बेच्ने गरेको छ ।
चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा बेचिरहेको छ ।
मङ्सिर ३ गतेसम्म मूल्यमा छुट दिइने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगु शाखा कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सहुलित मूल्य पसल चलाउँदा सुविधा र केही सस्तो भए पनि अन्य बेलामा भने कर्णालीबासी महङ्गीको मार खेप्न बाध्य छन् ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०, ०९:४४