ललितपुर । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार दुईजना स्रष्टालाई अर्पण गरेको छ ।
ललितपुरमा आज आयोजित कार्यक्रममा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार अर्पण गरिएको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले जनही चार चार लाख रुपैयाँ राशीको पुरस्कार अर्पण गर्नुभयो । कलाकार मुखियाले अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागीमाझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ ।
करिब ६ दशकदेखि कला क्षेत्रमा सक्रिय मुखियालृ ५ हजारभन्दा धेरै पुस्तकको आवारण डिजाइन गर्नुभएको छ । यस्तै, विगतमा नेपालीले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यसको ऐँठनले पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि मिसाई उत्कृष्ट औपन्यासिक कलामार्फत नवीन किसिमले व्यक्त गरेकाले ऐँठन कृतिका लागि ओझालाई मदन पुरस्कार अर्पण गरिएको पनि गुठीले जनाएको छ ।
पुरस्कार अर्पण कार्यक्रममा सुनुवारले निकै धेरै चुनाैतीका बिच कलाकर्मलाई अघि बढाएको स्मरण गर्दै यो सम्मानले आफू र आफूजस्तै कला क्षेत्रमा लागिरहेकाहरूलाई हाैसला मिलेकाे बताउनुभयाे ।
यस्तै मदन पुरस्कार विजेता विवेक ओझाले लेखन कर्मलाई निरन्तरता दिने कि नदिने भन्ने दुविधा भइरहेका बेला प्राप्त गरेको यो सम्मानले अद्भुद देउरालीमा पुगेको आभाष दिलाएको बताउनुभयो ।
इतिहासका अध्येता याेगेश राजले विद्वत प्रवचन दिनुभएको थियो । उहाँले समाजको परिवर्चनसँगै चिन्तन र चेतनामा आइरहेको फरक पन र त्यसले इतिहास र सभ्यताको अध्ययनमा पारिररहेको प्रभावका विभिन्न पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा–श्री सम्मान अर्पण गर्ने गरिन्छ । मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा–श्री २०४५ सालदेखि अर्पण गर्न थालिएको हो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०, १७:२८