काठमाडाैँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा मङ्गलबार आयोजित कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभएको हो ।
नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताउनुभयाे । नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको उहाँले बताउनुभयाे ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
एनआरएन नागरिकता पाएकाहरुले नेपालमा व्यवसाय गर्न र सम्पत्ति राख्न पाए पनि नेपालमा राजनीति गर्न, सरकारी पदमा बस्न र मतदान गर्न भने पाउने छैनन् । यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने कानुन छ ।
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिन निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०, १०:२०