रोशन तिवारी, रेडियो शालिग्राम,पर्वत
बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् ।
हिजो साँझ स्थानीय जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी, शिक्षक र अभिभावकसहित फर्किंदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा सोहि विद्यालयमा पढ्ने १२ वर्षिया ज्योती पुन, १५ वर्षिया प्रियंका पुन, १३ वर्षिया एलिना पुन र ३१ वर्षिय शिक्षक तुलसी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
जीप सडकबाट १ किलोमिटर तल खसेको थियो । साँझ ६ः३० बजे जीप दुर्घटना भएको जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाईते हुने सबै ११ जना जैमिनी नगरपालिका –८ छिस्तीकै रहेका छन् ।
घाईते हुनेहरुमा ३० वर्षिया धना श्रीस, १६ वर्षिया विष्णा श्रीस, १५ वर्षिया तृष्णा पुन, १३ वर्षिय बिशाल परियार, १२ वर्षिया सविना थापा, ५० वर्षिया नन्दकली श्रीस, ५८ वर्षिया मानकुमारी थापा, १२ वर्षिय निर्मल पुन, १२ वर्षिया पूजा पुन, १६ वर्षिय संगम श्रीस र १२ वर्षिया संझना पुन रहनुभएको छ ।
यसैबिच, पर्वतको बिहादी गाउँपालिका – ५ उरामपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हिजो साँझ ध १ च ३१५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो ।
नेपालीको घटनास्थलमै र केसीको उपचारका क्रममा स्याङजा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ट्याक्टरका चालक भने सकुसल रहेका र अहिले प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ ।
सडकको छेउको जमिन भासिएका कारण दुर्घटना भएको स्थानीय बलराम केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५, ०६:५२