काठमाडौँ । इजरायलबाट स्वदेश फर्किन आवेदन दिएकामध्ये थप १९ जना आज फर्कने भएका छन् । हमास समुहको आक्रमणपछि घर फर्कन अनलाइनमार्फत आवेदन दिएकामध्ये थप १९ जनालाई भारतीय विमानमार्फत् स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिनुभयो ।
उनीहरुलाई इजरायलको तेल अविवबाट भारतको उद्धार उडान (रेस्क्यु फ्लाइट) मार्फत् ल्याउन लागिएको र मङ्गलबार बेलुकी ७ बजेसम्मा भारतको राजधानी नयाँ दिल्ली आइपुग्ने उहाँले जानकारी दिनुभयो । उनीहरुलाई त्यहाँबाट नेपाली दुतावासले सवारीसाधनको ब्यवस्था गरेर गौरीफन्टा नाका हुँदै नेपाल ल्याउने तयारी छ ।
उद्धार गरिएका नेपालीमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरीता गुरुङ र उर्मिला श्रेष्ठ रहेको पनि परराष्ट्र मन्त्री साउदले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०, १२:०४