काठमाडाैँ । यो वर्ष मनसुनजन्य विपतका घटनामा परि ९२ जनाको मृत्यु भएको छ । पहिरोका ४५९, ठूलो वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ गरी ८ सय ९२ वटा घटनामा परी ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यी घटनामा ३० जना बेपत्ता भएका छन् भने १६८ जना घाइते भएका छन् । प्राधिकरणले यसबर्ष विपदका घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या भने २२ प्रतिशतले घटेको जनाएको छ । पोहोर मनसुनजन्य विपतका घटनामा परि ११९ जनाको मृत्यु भएको थियो ।
यसवर्ष मनसुनअवधिमा ६ हजार १ सय ३० परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ । गत वर्ष भने प्रभावित परिवारको सङ्ख्या २ हजार ३ सय ५ थियो । पुर्व सर्तकता प्रणालीको विस्तार गरिएको, सचेतना बढेको जस्ता कारणले विपदका घटना बढेपनि क्षति तुलनात्मक रुपमा कम भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले सीआईएनसँग बताउनुभयो ।
यो वर्ष मनसुनमा २ सय ४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुग्दा झण्डै ३३ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । नेपालमा यो वर्ष गत जेठ ३१ गते भित्रिएको मनसुन गत आइतबारबाट बाहिरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०, १८:५४