विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । कार्कीलाई प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदले विश्वासको मत दिएका हुन् । उहाँलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।
राप्रपाका ५ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक सांसद भने अनुपस्थित थिए ।
प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।
कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरे पनि यो निर्णयमा असहमती जनाएका कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो । पछि गठबन्धनका दलले माओवादीका उम्मेदवार इन्द्र आङ्बोले दाबी फिर्ता लिनुभएको थियो ।
मुख्यमन्त्री कार्कीले काँग्रेस र एमालेका दुईजना सांसदलाई समावेश गरी मन्त्रीपरिषद विस्तार गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०, १७:३४