काठमाडौँ । धार्मिक परम्परा र मान्यताको आडमा बालबालिका माथि हुने हिंसा कम गर्दै बालबालिकाको चौतर्फी विकासका लागि आफूहरूले जस्तोसुकै सहयोग गर्ने विभिन्न धर्मका अगुवा तथा धर्मगुरुले प्रतिबद्धता जनाएका छन् ।
वल्र्ड भिजन इन्टरनेसनलको सहयोगमा अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) ले विभिन्न संस्थाको साझेदारीमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा हिन्दु, बौद्ध, इस्लाम, इसाइ, किरातलगायत धर्मका अगुवाहरूले आफ्नो धर्म ग्रन्थमा बालबालिकालाई देवता समान मान्नुपर्ने उल्लेख गरेको बताए ।
बालबालिका र धर्मगुरुबीच भएको अन्तरक्रियाले यस क्षेत्रमा धेरै सचेतना फैलाउने काम गर्नुपर्ने देखिएको निरनका अध्यक्ष भिक्षु पिया दाशीले बताउनुभयो ।
कार्यक्रममा धर्मगुरुहरूले आफ्ना ग्रन्थमा लेखिएका विषयहरूलाई प्रस्तुत गरेका थिए भने बालबालिका तथा सरोकारवालाले त्यसमा आफ्नो विचार राख्दै छलफल गरेका थिए ।
निरनका अध्यक्ष भिक्षु पिया दाशी, इसाइ धर्मका पास्टर रुविन पाख्रीन, हिन्दु धर्मका डा. नम्रता पाण्डे र र इस्लाम धर्मका अवदुल अजिजले प्रस्तुति गर्नु भएको थियो ।
धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) का व्यवस्थापक नहिदा बानुले सबै धर्मका ग्रन्थमा बालबालिकालाई उच्च स्थान दिएको बताउँदै धर्म ग्रन्थमा भएका कुराहरू बाहिर ल्याउँदा धर्मको नाममा हुने हानिकारक परम्परागत अभ्यास अन्त्य गर्न सकिने भएकाले बालबालिका र धर्मगुरुबीच अन्तरक्रिया गराएको बताउनुभयो ।
कार्यक्रममा दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वहरूको अवसरमा सबै धर्मका धर्मगुरुहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०, १४:१०