काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या १९ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगार विभागकाअनुसार गएको साउनदेखि असोज मसान्तसम्म १ लाख ६२ हजार ६९४ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ हजार ४९० जनाले कम रहेको विभागले जनाएको छ ।
यो वर्ष मलेसिया र खाडीका देशमा जाने नेपालीको सङ्ख्या धेरै घटेको छ । यो वर्ष असोजमा मलेसियाका लागि ७ हजार ९०९ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । पोहोर भने यो अवधिमा २७ हजार ६२ जनाले मलेसिया जाने श्रम स्वीकृति लिएका थिए ।
यस्तै, युएईका लागि १३ हजार ९०५ जना, साउदी अरेबियाका लागि ११ हजार १२३ जना, कतारका लागि १० हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसिया र खाडीका देशबाट नयाँ कामदारको माग नै कम आइरहेकोले जाने क्रम पनि घटेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले सीआईएनसँग बताउनुभयो ।
यस्तै, रोजगारीका लागि युरोपेली देश जाने क्रम बढेकाले पनि खाडीका देश जाने श्रमिक घटिरहेका छन् । कतिपय कामदार भने सरकारले श्रम सम्झौता गरेका नयाँ देशमा जाने योजनाका साथ तयारी पनि गरिरहेकाले खाडीका देशमा जाने श्रमिक घटिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०, ०६:५४