काठमाडाैँ । आज बडादसैँको साताैँ दिन, फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन हिन्दू धर्मावलम्बीले घरघरमा स्थापना गरेको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ।
वैदिक विधिपूर्वक पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाले आकर्षक परेडसहित बडाइ कवाज प्रदर्शन, सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिसहित विभिन्न धुन र झाँकी प्रस्तुत गरिन्छ।
समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत सहभागी हुनुहुने छ ।
बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा रहिआएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०, ०५:५७