काठमाडौा । प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज काठमाडौँ आइपुग्ने भएको छ ।
कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने अनि दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव इजरायलबाट दुबई हुँदै बिहान ९ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ल्याउन लागिएको हो ।
पराराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत लगायतका सरकारी अधिकारी विमानस्थल जानेछन् भने आजै नेपाली सेनाको हेलिकप्टरबाट चारैजनाको शव धनगढी लैजाने र आफन्तको जिम्मा लगाउने तयारी सरकारको छ ।
इजरायल सरकारले ५ नेपाली विद्यार्थीको शव गएको असोज २८ मा नेपाली दूतावासलाई जिम्मा लगाएको थियो ।
बझाङका गणेशकुमार नेपालीको शव भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण नेपाल ल्याउन केही समय लाग्ने भएको छ । सीआईएनसँग कुराकानी गर्दै गणेशका दाइ विकास नेपालीले भाइको शव चाँडो ल्याउनका लागि सरकारसँग अनुरोध गर्नुभयो ।
पढ्दै कमाउँदै सिकाइ कार्यक्रममा सहभागी भएकामध्ये १० नेपालीको हमास समूहको आक्रमणमा परी मृत्यु भएको थियो । वेपत्ता विपिन जोशीको खोजीका लागि सबै प्रयास जारी राखिएको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०, ०८:३४